त्रिकालदर्शन

धार्मिक समाचार

शान्तिनगर बन्दै आध्यात्मिक केन्द्र : धर्म जागनी महोत्सव २०८२ को भव्य तयारी

रौतहटको शान्तिनगर यतिबेला आध्यात्मिक उल्लासले झलमल्ल बनेको छ। श्री कृष्ण प्रणामी सेवा समिति नेपाल तथा मूल समारोह समिति, चन्द्रपुर–६, शान्तिनगरको आयोजनामा “श्री कृष्ण प्रणामी धर्म जागनी महोत्सव एवं कलश अनावरण कार्यक्रम २०८२” भव्य रूपमा आयोजना हुन लागेको छ।

श्रीकृष्ण प्रणामी धर्मका आध्यपीठाधीश, जगतगुरु अनन्तश्री विभूषित कृष्णमणि महाराजज्यूको पावन सान्निध्यमा सञ्चालन हुने यस कार्यक्रममा आशिर्वचन, धार्मिक सभा, विद्वत् गोष्ठी, आध्यात्मिक कथा–प्रवचन तथा आशिर्वाद गुञ्जन निरन्तर रूपमा गुञ्जिनेछन्। कार्यक्रममा देशैभरिका विभिन्न मन्दिर तथा धार्मिक स्थलबाट पधार्ने सन्त–महन्त, गुरुजन, पाठ–पारायणमा संलग्न पण्डितजन, प्रशासनिक व्यक्तित्व तथा विभिन्न राजनीतिक दलमा आबद्ध अगुवाहरूको गरिमामय उपस्थिति रहने जनाइएको छ।

कार्यक्रम अन्तर्गत आयोजना हुन गइरहेको शोभा तथा कलश यात्रा एवं झाँकी महोत्सव आकर्षक र मनमोहक रूपमा देख्न सकिने अपेक्षा गरिएको छ। चन्द्रनिगाहपुर नगरपालिका, स्थानीय युवाहरू, सामाजिक विकास संस्थाहरू तथा विभिन्न कार्यालयका प्रतिनिधिहरूको सक्रिय सहभागितासहित सम्पन्न हुने नगर परिक्रमा कार्यक्रममा कला, संस्कृति र ऐतिहासिक पहिचान झल्किने झाँकी, भेषभूषा, रहनसहन र बाजागाजाले विशेष आकर्षण थप्ने विश्वास गरिएको छ। मधेश प्रदेश, कोशी प्रदेश, बागमती प्रदेशलगायत देशैभरिबाट श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहने आयोजकले जनाएको छ।

“तुम सेवा से पाओगे पार, सुख शीतल करूँ संसार” भन्ने दिव्य मूलमन्त्रसहित सञ्चालन हुने यस महोत्सवले धर्म, सेवा र सद्भावको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

महोत्सव अन्तर्गत श्रीमद् तारतम सागर १०८ पाठ पारायण तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न गरिनेछ। फागुन ३ गतेदेखि ९ गतेसम्म (१५ देखि २१ फेब्रुअरी, २०२६) सञ्चालन हुने कार्यक्रमले भक्तजनलाई आध्यात्मिक साधना र ज्ञानार्जनको अमूल्य अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

श्रीमद्भागवत महापुराण कथा महन्त श्री १०८ सुधाकर महाराज बाट प्रवाहित हुने छ भने, श्रीमत्तारतम सागर ब्रह्मवाणी चर्चा सन्त श्री १०८ सुरेन्द्र महाराज द्वारा संगीतमय रूपमा प्रस्तुत गरिनेछ। भजन–कीर्तन, सत्संग, प्रवचन, विशेष पूजाअर्चना तथा भव्य कलश अनावरण कार्यक्रम यस महोत्सवका प्रमुख आकर्षणका रूपमा रहनेछन्।

महोत्सवको मुख्य आकर्षणका रूपमा रहने कलश अनावरण कार्यक्रमलाई धर्मप्रेमी समुदायले आस्था र एकताको प्रतीकका रूपमा लिएका छन्। मन्दिर परिसरमा नवचेतनाको सन्देश दिन आयोजना हुन लागेको यो कार्यक्रमले स्थानीय तथा आसपासका क्षेत्रका श्रद्धालुहरूमा उत्साह थपेको छ।

आयोजक समितिका पदाधिकारीहरूका अनुसार, महोत्सवको मूल उद्देश्य धर्मप्रति जनचेतना अभिवृद्धि गर्नु, युवा पुस्तालाई आध्यात्मिक मार्गतर्फ अभिप्रेरित गर्नु तथा समाजमा प्रेम, सद्भाव र एकताको वातावरण सुदृढ बनाउनु हो।

शान्तिनगरस्थित श्रीकृष्ण प्रणामी मन्दिर, चन्द्रपुर–६ मा आयोजना हुन गइरहेको यस धार्मिक महोत्सवमा सहभागी भई पुण्य लाभ लिन सम्पूर्ण श्रद्धालु भक्तजनलाई हार्दिक निमन्त्रणा गरिएको छ। धर्म, सेवा र समर्पणको त्रिवेणी संगम बन्ने यस महोत्सवले केही दिनका लागि शान्तिनगरलाई आध्यात्मिक राजधानीको अनुभूति गराउने विश्वास गरिएको छ।

पूर्णब्रह्म परमात्मा तथा साक्षात् राज श्यामाजीसँग साक्षात्कारका लागि प्रेम, त्याग र शुद्ध भक्ति आवश्यक पर्ने बताउँदै भित्री रूपान्तरण नै श्रीराज्जी महाराजको प्राप्तिको साँचो मार्ग भएको सन्देश प्रवाह गरिनेछ। शान्तिनगरका अग्रज सुन्दरसाथहरूको साधना, समर्पण र सेवाभावका कारण यो भूमि आध्यात्मिक रूपमा उर्वर बनेको उल्लेख गर्दै आयोजक समितिले यस कार्यक्रमलाई दिव्य ज्ञान र आत्मबोधको महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरेको छ।

फागुन ३ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने यस पावन धार्मिक महोत्सवमा देशैभरिका श्रद्धालु भक्तजनलाई सपरिवार उपस्थित भई आध्यात्मिक आनन्द तथा धार्मिक लाभ लिन आयोजक समितिले हार्दिक अनुरोध गरेको छ।