निजगढमा १०८ ब्रह्मवाणी पाठ सुरु, आचार्य महाराजश्रीको आशीर्वादसहित

सन्तोष बजगाई
निजगढ / श्री कृष्ण प्रणामी मन्दिर सडकटोल, निजगढ नगरपालिका–८, बारामा आयोजना गरिएको वार्षिकोत्सव तथा पावन झण्डोत्तोलन कार्यक्रम श्रीमद् तारतमसागरका १०८ ब्रह्मवाणीको दिव्य पाठ–पारायणसहित माघ २१ गतेदेखि २७ गतेसम्म भक्तिमय वातावरणमा सञ्चालन हुँदै आएको छ।
श्रीकृष्ण प्रणामी धर्मका आध्यपीठाधीश, जगतगुरु अनन्तश्री विभूषित कृष्णमणि महाराजज्यूको पावन सान्निध्यमा सञ्चालन भइरहेको कार्यक्रममा आशिर्वचन, धार्मिक सभा, विद्वत् गोष्ठी, आध्यात्मिक कथा–प्रवचन तथा आशिर्वाद गुञ्जन निरन्तर रूपमा भइरहेको छ। कार्यक्रममा देशैभरिका विभिन्न मन्दिर तथा धार्मिक स्थलबाट पधार्नुभएका सन्त–महन्त, गुरुजन, पाठ–पारायणमा संलग्न पण्डितजन, प्रशासनिक व्यक्तित्व तथा विभिन्न राजनीतिक दलमा आबद्ध अगुवाहरूको गरिमामय उपस्थिति रहेको छ।
कार्यक्रमअन्तर्गत आयोजना गरिएको शोभा तथा कलश यात्रा एवं झाँकी महोत्सवमा निजगढ नगरपालिका, स्थानीय युवाहरू, सामाजिक विकास संस्थाहरू, विभिन्न कार्यालयका प्रतिनिधिहरूको सक्रिय सहभागिता देखिएको छ। कला, संस्कृति र ऐतिहासिक पहिचान झल्किने झाँकी, भेषभूषा, रहनसहन र बाजागाजासहित सम्पन्न नगर परिक्रमा कार्यक्रममा मधेश प्रदेश, कोशी प्रदेश, बागमती प्रदेशलगायत देशैभरिबाट श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।
मन्दिरको कलश अनावरण कार्यक्रमलाई थप भव्य र जनसहभागितामूलक बनाउन निजगढ नगरपालिकाले कार्यक्रमको शुभारम्भका दिन सार्वजनिक बिदा समेत प्रदान गरेको थियो।
कार्यक्रममा वक्ताहरूले धर्म र कर्मलाई केवल बाहिरी आडम्बरमा सीमित नराखी व्यवहार, आचरण र समर्पणसँग जोड्नुपर्नेमा जोड दिएका छन्। पूर्णब्रह्म परमात्मा तथा साक्षात् राज श्यामाजीसँग साक्षात्कारका लागि प्रेम, त्याग र शुद्ध भक्ति आवश्यक पर्ने बताउँदै भित्री रूपान्तरण नै श्रीराज्जी महाराजको प्राप्तिको साँचो मार्ग भएको सन्देश प्रवाह गरिएको छ।
निजगढका अग्रज सुन्दरसाथहरूको साधना, समर्पण र सेवाभावका कारण यो भूमि आध्यात्मिक रूपमा उर्वर बनेको उल्लेख गर्दै आयोजक समितिले यस कार्यक्रमलाई दिव्य ज्ञान र आत्मबोधको महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरेको छ।
आयोजक समितिले माघ २१ गतेदेखि २७ गतेसम्म सञ्चालन हुँदै आएको यस पावन धार्मिक महोत्सवमा देशैभरिका श्रद्धालु भक्तजनलाई सपरिवार उपस्थित भई आध्यात्मिक आनन्द तथा धार्मिक लाभ लिन अनुरोध गरेको छ।









Post Comment