सरस्वती पूजा आज, मन्दिर र विद्यालयमा उल्लास

काठमाडौं / आज सरस्वती पूजा अर्थात् श्रीपञ्चमी देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ। ज्ञान, कला र सङ्गीतकी देवी सरस्वतीको आराधना गर्दै विद्यालय, मन्दिर तथा विद्याका केन्द्रहरूमा विशेष पूजा–अर्चना भइरहेको छ।
आजको दिन अक्षरारम्भ गर्ने, कलम–कागज, पुस्तक, वाद्ययन्त्रलगायत सिर्जनाका सामग्रीहरूको पूजा गर्ने परम्परा छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन रहेको छ। श्रीपञ्चमीका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
चन्द्रमाजस्तो गोरो वर्ण, हातमा वीणा र पुस्तक धारण गरेकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता विभिन्न नामले पुकार्ने गर्दछन्।
विद्या र सृजनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक तथा विद्यार्थीहरूले आफ्ना कला–साधनाका सामग्री—कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीको प्रतीक मानेर पूजा–आराधना गर्छन्। तान्त्रिक साधकहरूले भने तन्त्रसिद्धिका लागि तारादेवीका रूपमा सरस्वतीको आराधना गर्ने प्रचलन छ।
ऋग्वेदमा सरस्वतीलाई ब्रह्माणी तथा वाग्देवीका रूपमा उल्लेख गरिएको पाइन्छ। काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैह्रीधारास्थित नील सरस्वती देशका विभिन्न स्थानमा रहेका सरस्वती मन्दिरहरूमा आज बिहानैदेखि पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको छ।
सरस्वतीलाई चढाइएका सात गेंडा अक्षता निलेमा विद्या–बुद्धि वृद्धि हुने र चेतनाको ज्योति प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यसैगरी श्रीपञ्चमीका दिन काठमाडौंको हनुमानढोकास्थित नासलचोकमा पुरोहितद्वारा विधिपूर्वक कथा वाचन गरी वसन्त श्रवण गर्ने परम्परा पनि रहिआएको छ।



Post Comment