त्रिकालदर्शन

धार्मिक समाचार

बुढाैलीमा १०८ पाठ पारायणसहित स्वर्ण वर्ष धर्म–महोत्सव भव्य रूपमा सम्पन्न

चितवन / श्रीकृष्ण प्रणामी मन्दिर बुढाैली स्थापनाको स्वर्ण वर्ष महोत्सवअन्तर्गत आयोजना गरिएको १०८ श्रीमद् तारतम सागर पाठ पारायण तथा धर्म जागरण महोत्सव अत्यन्तै भव्य, मर्यादित र अध्यात्मिक उल्लासका बीच सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको विधिवत् उद्घाटन श्री ५ नवतनपसरीधाम जामनगरबाट पधारिएका अनन्तश्री विभूषित जगद्गुरु कृष्णमणी महाराजकाे करकमलबाट सम्पन्न भयो।

नव–निर्मित कलात्मक मन्दिर उद्घाटनको ऐतिहासिक क्षणमा देश–विदेशका गणमान्य गादीपति, विद्वान्–विदुषी सन्त–महन्त, गुरुजन तथा सुन्दरसाथको विशाल उपस्थिति रहेको थियो। महोत्सवमा महमंगलपुरी धाम, सुरतका गादीपति सूर्यनारायण महाराज, नवतनधाम सेवा केन्द्रका गादीपति अमृतराज महाराज, महन्त पुरुषोत्तम महाराज, गोपीधाम धरानका गादीपति जगतानन्द महाराज, कृष्णकृपाधाम देवघाटकी संस्थापक तारामाता, धर्मधाम जिरौंनाका राजेन्द्रदाश महाराज तथा सुर्खेतका मोहनानन्द महाराजसहित विभिन्न मठ–मन्दिरका सन्तहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

एक सातासम्म १०८ जना वाचकमार्फत निरन्तर रूपमा तारतम सागर पाठ गरिँदा बुढाैली क्षेत्र नै आध्यात्मिक ऊर्जाले गुन्जायमान बनेको थियो। छैटौँ दिनसम्म पनि गान–बजाना, कथा–प्रवचन र आध्यात्मिक अमृतरसपानमा सुन्दरसाथ र भक्तजनको भीड निरन्तर बढ्दो थियो।

कार्यक्रम प्रारम्भमै जगद्गुरुकाे अगुवाइमा विभिन्न महाराज, धार्मिक समितिका पदाधिकारी तथा सुन्दरसाथसहित खैरहनीबाट पर्साबजारसम्म कलश यात्रा र नगर–परिक्रमा गरिएपछि क्षेत्रमा धार्मिक उत्साह झनै बढेको थियो।

प्रचार–प्रसारको उद्देश्यले मंसिर १ गते चितवनमा ३०० भन्दा बढी भक्तजन सहभागी भई विशाल मोटरसाइकल र्‍याली आयोजना गरिएको थियो, जसले महोत्सवप्रति जनचासो थप प्रगाढ बनायो।

आशिर्वचन दिँदै जगद्गुरु कृष्णमणी महाराजले “सन्त वृन्दावनदाशकाे सत्कर्म, ब्रिन्दावन धामको महिमा र भक्तजनको समर्पणका कारण बुढाैलीमा सुन्दर, भव्य र आध्यात्मिक चेतनाले भरिएको मन्दिर निर्माण सम्भव भएको हो” भन्दै हर्ष व्यक्त गर्नुभयो।

उद्घाटन समारोहमा रत्ननगर नगरपालिकाका नगर प्रमुखले मन्दिरले सो क्षेत्रको धार्मिक पर्यटन वृद्धि गर्न ठूलो भूमिका खेल्ने उल्लेख गर्दै नगरपालिकाले आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाए।

महोत्सव सञ्चालन तथा मन्दिर सौन्दर्यकरणका लागि दानवीर सेवाभावी भक्तजनबाट अर्थोपहार, सामग्री तथा विभिन्न सेवाहरू अर्पण गरिएको थियो।

शुरुको मञ्च कार्यक्रम युवा परिषद नेपालले सञ्चालन गरेको थियो भने भोजन सेवामा रु. १ लाख ११ हजार सहयोग जुटेको जानकारी अध्यक्ष मीरा खतिवडा सञ्जेलले दिनुभयो।

बाईजुराज समितिले रौतहट, मकवानपुर, चितवन र काठमाडौं जिल्लामा सञ्चालन भएका गतिविधिको समग्र समीक्षा गर्दै आगामी योजनाबारे पनि विस्तृत छलफल गरेको थियो।

मन्दिर निर्माण र महोत्सव व्यवस्थापनमा अहोरात्र खटिएका भरतमणी सुवेदी पण्डितले जगद्गुरु, सन्त–महन्त, प्रचारक, कलाकार, उषा माता, उषारति प्रिया तथा प्रत्यक्ष–परोक्ष रूपमा सेवा गर्ने सम्पूर्ण सुन्दरसाथप्रति हार्दिक आभार व्यक्त गरे।

मंसिर १० गतेसम्म निरन्तर सञ्चालन भएको स्वर्ण वर्ष विशेष महोत्सव आध्यात्मिक, सांस्कृतिक र धार्मिक उल्लासका बीच भव्यतापूर्वक सम्पन्न भएको छ।