त्रिकालदर्शन

धार्मिक समाचार

श्रीकृष्ण प्रणामी बाईजुराज महिला समितिको २१ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं / श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति नेपालको २१ औँ (रजिष्टर्ड पाँचौँ) वार्षिक साधारण सभा काठमाडौंको गोठाटारस्थित श्रीकृष्ण प्रणामी मन्दिर श्री नवतनधाम सेवा केन्द्रमा सम्पन्न भयो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका अध्यक्ष श्यामकृष्ण (एस.के.) शर्मा र विशेष अतिथि गादिपति श्री १०८ अमृतराज महाराज तथा महन्त श्री १०८ पुरुषोत्तम महाराजले पानसमा दियो बालेर र श्री बाईजु महारानीको तस्वीरमा माल्यार्पण गरेर गरेका थिए।

केन्द्रीय अध्यक्ष मिरा खतिवडा सञ्जेलको सभापतित्वमा भएको कार्यक्रममा गादिपति अमृतराज महाराज र महन्त पुरुषोत्तम महाराजले समितिले देशभर सेवामुखी कार्यद्वारा परिचित भई बालबालिका तथा युवा जागृतिका कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। प्रमुख अतिथि एस.के. शर्माले विनयशील र अनुशासित सेवामुखी कार्यलाई निरन्तरता दिन शुभकामना व्यक्त गर्नुभयो।

महासचिव सविता प्रसाईं सापकोटाले प्रतिवेदन मार्फत समिति देशभर सक्रिय रहेको र आगामी कार्यक्रम विस्तार हुने जानकारी दिनुभयो। कोषाध्यक्ष किरण दहालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।

यस अवसरमा श्रीनिजानन्द आश्रम पुल्चोकका गादिपति श्री कोमलदास महाराजलाई १ लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना सहयोगका लागि सम्मान गरिएको थियो।

साधारण सभाले प्रगति तथा आर्थिक प्रतिवेदन पारित गर्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै सेवामूलक कार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।