त्रिकालदर्शन

धार्मिक समाचार

“अखिल क्रान्तिकारीले उठायो शिक्षा मुद्दा” :- विजय लामा

• अखिल (क्रान्तिकारी) बागमती प्रदेशका प्रमुख सचिवका रूपमा तपाईंको परिचय र हाल संगठनको संगठनात्मक अवस्था तथा जनसमर्थनलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

👉 विजय लामा (प्रदेश प्रमुख सचिव, अखिल क्रान्तिकारी–बागमती) : म विगत १८ बर्ष देखि विद्यार्थी आन्दोलनमा सक्रिय छु । हाल बागमती प्रदेश सचिवको जिम्मेवारी सम्हाल्दै आएको छु । हाम्रो संगठन विगत केही वर्षयता निरन्तर सुदृढ हुँदै आएको छ । प्रदेशभित्रका सबै १३ जिल्लामा जिल्ला समिति गठन भइसकेको छ, क्याम्पस स्तरमा समेत शाखा समिति सक्रिय छन् । उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीहरूले शिक्षा व्यापारीकरणविरुद्ध र रोजगार सिर्जनाका सवालमा हाम्रो अभियानलाई समर्थन गर्दै आएका छन् । विशेषतः ग्रामीण क्षेत्रका सरकारी विद्यालयका विद्यार्थीमा हाम्रो प्रभाव बढ्दो छ, जुन हाम्रो संगठनको जनआधार मजबुत भएको स्पष्ट संकेत हो ।

• वर्तमान शिक्षण प्रणाली र विश्वविद्यालयहरूको गुणस्तरलाई तपाईंले कसरी हेर्नुहुन्छ ?

👉 नेपालको उच्च शिक्षा प्रणाली अझै पनि पुरानो ढाँचामा अड्किएको छ । पाठ्यक्रम समयानुकूल अद्यावधिक भएको छैन, अनुसन्धान र प्रयोगात्मक अध्ययनको अवसर न्यून छ । निजी विश्वविद्यालय र कलेजहरूले शुल्क अत्यधिक वृद्धि गरेका छन्, जसले मध्यम र निम्न आय वर्गका विद्यार्थीलाई शिक्षा हासिल गर्न कठिन बनाएको छ । राज्यले अनुदान र छात्रवृत्तिको दायरालाई विस्तार नगर्दा असमानता झन् तीव्र भएको छ ।

• यी समस्याको समाधानका लागि अखिल (क्रान्तिकारी) ले हालसम्म के–कस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ?

👉 हामीले “शिक्षा नि:शुल्क र सर्वसुलभ” भन्ने अभियानलाई प्राथमिकता दिएका छौँ । शुल्क वृद्धिविरुद्ध क्याम्पसस्तरमा विरोध प्रदर्शन, विद्यार्थीलाई छात्रवृत्ति सुनिश्चित गर्न प्रशासनसँग निरन्तर दबाब, र विश्वविद्यालयमा पाठ्यक्रम अद्यावधिक गर्न सुझाव पत्र बुझाउने जस्ता कार्यक्रम सञ्चालन गरिरहेका छौँ । साथै, बेरोजगार विद्यार्थीका लागि सीपमूलक तालिम र उद्यमशीलता प्रवर्द्धन गर्ने नीति सरकारसँग माग गर्दै आएका छौँ ।

• प्रदेशमा हालै देखिएका विद्यार्थी आन्दोलनका गतिविधि र त्यसको प्रभावलाई तपाईं कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

👉 विद्यार्थी आन्दोलनले शैक्षिक संस्थामा हुने अनियमितता नियन्त्रण गर्न ठूलो योगदान पुर्‍याएको छ । शुल्क वृद्धिमा नियन्त्रण, परीक्षा प्रणाली सुधार, र विद्यार्थी अधिकारको सुनिश्चिततामा आन्दोलनको सकारात्मक परिणाम देखिएको छ । हाम्रो मान्यता छ— विद्यार्थीको संगठित आवाज बिना शिक्षा प्रणाली सुधार असम्भव छ, र हालको आन्दोलनले यही आवश्यकता प्रत्यक्ष प्रमाणित गरेको छ ।

• नेपालको वर्तमान राजनीतिक परिवेशले विद्यार्थी राजनीतिमा कस्तो असर पारिरहेको छ ?

👉 राष्ट्रिय राजनीति अस्थिर रहँदा विद्यार्थी राजनीतिमा पनि मिश्रित प्रभाव परेको छ । नेताहरूको अविश्वसनीय व्यवहारले केही युवामा निराशा बढाएको छ । तर अर्को पाटो हेर्दा यो चुनौतीले विद्यार्थीलाई अझै जिम्मेवार र नीतिगत आन्दोलनमा केन्द्रित हुन प्रेरित पनि गरेको छ । हामी विद्यार्थी राजनीति स्वच्छ, नीति–केन्द्रित र समाजपरिवर्तनमुखी बनाउने अभियानमा छौँ ।

• बेरोजगारी र मष्तिष्क पलायनको समस्या चुलिँदै गएको छ । युवालाई नेपालमै अवसर सिर्जना गर्न तपाईंको संगठनको धारणा के छ ?

👉 हामीले यो विषयलाई गम्भीर रूपमा उठाउँदै आएका छौँ । सरकारलाई प्राविधिक शिक्षामा लगानी बढाउन, सीप विकास तालिमलाई अनिवार्य बनाउन, र घरेलु उद्योगलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्न हामीले माग गर्दै आएका छौँ । युवा तथा विद्यार्थीको सीपलाई देशभित्रै उत्पादन र सेवा क्षेत्रमा उपयोग गर्न सके मष्तिष्क पलायनको दर घटाउन सकिन्छ भन्ने हाम्रो विश्वास हो ।

• निजी शिक्षण संस्थाको मनपरी शुल्क र व्यावसायिकरणलाई नियन्त्रण गर्न के–कस्तो रणनीति आवश्यक छ ?

👉 सबैभन्दा पहिले सरकारले स्पष्ट शुल्क नीति ल्याउनुपर्छ । अनुगमन संयन्त्र बलियो बनाउन, अभिभावक–विद्यार्थीको सहभागितासहित शुल्क निर्धारण समिति गठन गर्नुपर्छ । हाम्रो संगठनले पनि अभिभावक संघ, शिक्षक संघ र नागरिक समाजसँग मिलेर अनियमितता उजागर गर्ने र दबाब सिर्जना गर्ने कामलाई प्राथमिकता दिएको छ ।

• युवा पुस्तामा राजनीतिक चेतना घट्दै गएको भन्ने आलोचनाप्रति तपाईंको टिप्पणी के छ ?

👉 मलाई लाग्छ चेतना घटेको होइन, तर राजनीतिक नेतृत्वप्रति विश्वास घटेको हो । युवाले असफल नेतृत्व देखेर निराशा प्रकट गरेका हुन् । तर जब वास्तविक मुद्दा— शिक्षा, रोजगार, समानता— उठ्छ, त्यतिबेला युवाको सहभागिता स्वतः बढ्छ । हाम्रो संगठनको कार्यक्रमहरूमा देखिएको युवाको सहभागिता नै यसको प्रमाण हो ।

• आगामी केही वर्षमा बागमती प्रदेशमा अखिल (क्रान्तिकारी) ले के–कस्ता ठूला कार्यक्रम ल्याउने योजना बनाएको छ ?

👉 हामी निकट भविष्यमा प्रदेशस्तरीय सम्मेलन गर्ने तयारीमा छौँ, जसबाट रणनीतिक कार्ययोजना पारित हुनेछ । “शिक्षा अधिकार अभियान”, “बेरोजगारी विरुद्धको हस्ताक्षर अभियान”, र “निजी शिक्षण संस्थामा पारदर्शिता” जस्ता विषयलाई प्राथमिकता दिनेछौँ । साथै, ग्रामीण बस्तीमा उच्च शिक्षा विस्तारका लागि दबाबमूलक कार्यक्रम पनि संचालन गर्ने हाम्रो योजना छ ।

• अन्त्यमा, विद्यार्थी र युवा पुस्तालाई तपाईंको व्यक्तिगत सन्देश के छ ?

👉 म सबै विद्यार्थी र युवालाई आह्वान गर्न चाहन्छु आफ्नो अधिकारका लागि सचेत र संगठित बन्नुहोस् । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर शिक्षा, समानता र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक आवाज उठाउनुहोस् । तपाईंहरूको सामूहिक शक्ति नै देशलाई समृद्धि र समानताको बाटोमा अघि बढाउने सबैभन्दा ठूलो ऊर्जा हो । त्रिकालदर्शन डट कमलाई यस प्रकारको संवादको अवसर प्रदान गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।