काठमाडौं, असार १६ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको हो।
नयाँ मूल्य २०८३ असार १७ गते बिहान १२:०१ बजेदेखि लागू हुनेछ। नयाँ मूल्यअनुसार पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोलको मूल्य क्रमशः रु. १९४.५०, रु. १९६.०० र रु. १९७.०० प्रतिलिटर तथा डिजेल/मट्टितेलको मूल्य रु. १९२.५०, रु. १९४.०० र रु. १९५.०० प्रतिलिटर कायम गरिएको छ। त्यसैगरी, १५ किलोग्रामको खाना पकाउने एलपी ग्यासको मूल्य रु. २,०६० प्रति सिलिन्डर तोकिएको नेपाल आयल निगमले जनाएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खरिद मूल्य घटेकाले स्वचालित मूल्य प्रणालीअनुसार उपभोक्तालाई राहत दिने उद्देश्यले नयाँ मूल्य समायोजन गरिएको हो।








