श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको ३५औं साधारण सभामा वेभसाइट शुभारम्भ र विद्यार्थी सम्मान

Bytrikaldarshan

२०८२ कार्तिक १५, शनिबार १६:०६ २०८२ कार्तिक १५, शनिबार १६:०६ २०८२ कार्तिक १५, शनिबार १६:०६

ललितपुर / ललितपुरको ईमाडोलस्थित श्रीकृष्ण प्रणामी मूल मन्दिरमा श्रीकृष्ण प्रणामी युवा परिषद नेपालले आफ्नो ३५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभामा परिषदको आधिकारिक वेभसाइटको शुभारम्भ समेत गरिएको छ।

कार्यक्रममा श्री नवतनधाम सेवा केन्द्रका गादीपति श्री १०८ अमृतराज महाराजको पावन उपस्थिती रह्यो भने प्रमुख अतिथिको रूपमा वरिष्ठ सञ्चारकर्मी टिकाराम यात्री सहभागी हुनुहुन्थ्यो। सभामा आध्यात्मिकता, सेवा र युवा चेतनाको समिश्रण झल्किएको थियो।

प्रमुख अतिथि यात्रीले युवाहरूमा देखिएको प्रतिबद्धता र शाकाहार संस्कृतिप्रतिको आस्था प्रशंसनीय रहेको बताउँदै भन्नुभयो,  “प्रणामी युवा केवल संगठनका सदस्य होइनन्, उनीहरू समाज सुधारका साँचाका धारक हुन्। तारतम सागरको सत्य सन्देशले मानवता र नैतिकताको बाटो देखाएको छ, र यो प्रकाश युवाहरूका कार्यहरूमा प्रकट हुँदै गएको छ।”

त्यसैगरी श्री १०८ अमृतराज महाराजले युवाहरूलाई जोश, एकता र जिम्मेवारीसहित समाज र धर्मको उत्थानमा जुट्न आग्रह गर्नुभयो। उहाँले भौतिक संरचना निर्माणदेखि स्रोत परिचालनसम्म सबै क्षेत्रमा साझा प्रयत्न आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा सेवा समितिका सल्लाहकार का संयोजक रेशमराज ढकाल, सेवा समिति नेपालका अध्यक्ष श्यामकृष्ण शर्मा, बाईजुराज समिति नेपालकी अध्यक्ष मिरा खतिवडा सञ्जेल, संस्थापक अध्यक्ष कल्याणकुमार कार्की, पूर्व अध्यक्ष मदनकृष्ण शर्मा, र पूर्व महासचिव नन्दकिशोर शर्मालगायत वक्ताहरूले युवा परिषदको क्रियाशीलता र यसको आध्यात्मिक योगदानले समाजमा सकारात्मक ऊर्जा प्रवाह गरिरहेको धारणा राखे।

सभाको विशेष क्षणमा यस वर्ष एसईई परीक्षामा ४ जीपीए प्राप्त गर्ने तीन विद्यार्थी — निभा मिश्र (काठमाडौँ), सम्पन्न खत्री (गोरखा) र श्रीजी पोखरेल (मोरङ) — लाई नगद पुरस्कार र मेडलसहित सम्मान गरिएको थियो।

कार्यक्रमका महासचिव दीपक कार्कीले परिषदको वार्षिक योजना र भावी नीति प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष उमेश प्रधानले आर्थिक प्रतिवेदन सभामा पेश गर्नुभयो। दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो।

सभाको संयोजन परिषदका उपाध्यक्ष तथा आयोजक संयोजक भिम बगालेले गर्नुभएको थियो। स्वागत मन्तव्य पनि उहाँकै तर्फबाट प्रस्तुत गरियो। सभाको सञ्चालन महासचिव दीपक कार्कीले सुव्यवस्थित र मनमोहक ढङ्गले गर्नुभयो।

कार्यक्रमको समापनमा सहभागीहरूले ३५ वर्षको यात्राले परिषदलाई सेवा, सदाचार र सत्यमार्गमा स्थिर बनाएको र अबका दिनमा देशभरका युवाहरूलाई एक सूत्रमा बाँध्ने संकल्प व्यक्त गरे।

सभाको सम्पूर्ण वातावरणमा “सत्य, प्रेम र सेवा नै जीवनको मार्ग हो” भन्ने आध्यात्मिक भावना गुञ्जिएको अनुभव गरिएको श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय सदस्य राधेश्याम गजुरेल ले जनाए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ