सिन्धुली, श्रावण ११ / श्रीकृष्ण प्रणामी मन्दिर, बोहोरेटार, सिन्दुलीमा आगामी श्रावण १८ गतेदेखि २४ गतेसम्म ‘श्रीमद् वीतक चर्चा एवं श्रीकृष्ण कथा–२०८३’ आयोजना हुने भएको छ।
आयोजित कार्यक्रममा समाजका विद्वान युवा धर्मप्रचारक श्री प्रभु दर्शन शास्त्रीजी ले श्रीमद् वीतक को गूढ आध्यात्मिक दर्शन, भगवान् श्रीकृष्णको दिव्य लीलाको महत्त्व तथा मानव जीवनलाई सत्य, सदाचार र आत्मबोधको मार्गतर्फ अग्रसर गराउने विषयमा विशेष प्रवचन प्रदान गर्नुहुनेछ।
आयोजकका अनुसार उहाँका प्रवचनमार्फत धर्म, अध्यात्म, नैतिक मूल्य, मानवता तथा आत्मचेतनाको सशक्त सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ। साथै, श्रीमद् वीतकमा निहित आध्यात्मिक ज्ञान र जीवनोपयोगी शिक्षाबारे विस्तृत चर्चा गरिने कार्यक्रम रहेको जनाइएको छ।
कार्यक्रम प्रत्येक दिन बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म सञ्चालन हुनेछ। धार्मिक ज्ञानको विस्तार, सत्सङ्गको प्रवर्द्धन तथा आध्यात्मिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन, धर्मप्रेमी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहने विश्वास आयोजकले व्यक्त गरेको छ।
आयोजक समितिले सम्पूर्ण श्रद्धालु भक्तजन तथा धर्मप्रेमी महानुभावहरूलाई कार्यक्रममा सहभागी भई श्रीमद् वीतक को दिव्य ज्ञान श्रवण गर्दै आध्यात्मिक लाभ लिन हार्दिक अनुरोध गरेको छ।








