स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएको चार वर्षको कार्यकाल पूरा हुँदै गर्दा बेथानचोक गाउँपालिकाले विकास निर्माणसँगै सामाजिक तथा मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा काम गर्दै आएको छ।
शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, पर्यटन, विद्युत्, भौतिक पूर्वाधार, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, सामाजिक न्याय, उद्यमशीलता, पशुपालन, वन तथा वातावरण, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा भएका कामले स्थानीय नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गरिएको गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिना बताउँछिन्।
चार वर्षको अवधिमा भएका प्रमुख काम, उपलब्धि, चुनौती, संघ तथा प्रदेशको सहयोग, कृषि तथा पर्यटन विकास, युवाका लागि योजना र आगामी प्राथमिकताका विषयमा त्रिकालदर्शन डटकमका संचालक सन्तोष बजगाईले उपाध्यक्ष तिमल्सिनासँग गरेको कुराकानी :
• आफ्नो परिचय दिनुस् न ?
म तारा राना तिमल्सिना, बेथानचोक गाउँपालिका, काभ्रेपलाञ्चोककी उपाध्यक्ष हुँ। जनताको विश्वास, साथ र सहयोगबाट स्थानीय सरकारको उपाध्यक्षका रूपमा जनताको सेवा गर्ने अवसर प्राप्त भएको छ।
जनप्रतिनिधिका रूपमा प्राप्त जिम्मेवारीलाई मैले अधिकारभन्दा पनि जनताको सेवा गर्ने अवसर र उत्तरदायित्वका रूपमा लिएकी छु। जनताको आवश्यकता, समस्या र अपेक्षालाई केन्द्रमा राखेर गाउँपालिकाको समग्र विकास र जनताको जीवनस्तर सुधारका लागि काम गर्दै आएकी छु।
• उपाध्यक्ष पद सम्हालेको चार वर्षको अवधिमा के–कस्ता काम गर्नुभयो ?
चार वर्षको अवधिमा गाउँपालिकाको समग्र विकासलाई केन्द्रमा राखेर विभिन्न क्षेत्रमा काम गरेका छौँ। सडक, शिक्षा, कृषि, धार्मिक तथा सांस्कृतिक क्षेत्र, खानेपानी, पर्यटन, विद्युत्, स्वास्थ्य, भवन तथा भौतिक पूर्वाधार, विपद् व्यवस्थापन, मानव विकास, न्यायिक सेवा, यातायात, वन तथा वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन, पशुपालन, व्यवसाय प्रवर्द्धन, सीप विकास, तालिम, सचेतना तथा जनचेतनालगायतका क्षेत्रमा काम भएका छन्।
विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न तथा आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गरी सामाजिक संरक्षण, क्षमता विकास, सीपमूलक तालिम तथा आयआर्जनसँग जोडिएका कार्यक्रम सञ्चालन गरेका छौँ।
स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले नागरिकका दैनिक समस्या समाधान गर्ने, सेवा प्रवाहलाई सहज बनाउने र विकास निर्माणका कामलाई जनताको आवश्यकता र प्राथमिकतासँग जोड्ने प्रयास गरेका छौँ।
चार वर्षमा भएका कामको अन्तिम मूल्याङ्कन जनताले गर्ने हो। हामीले भने उपलब्ध स्रोत, साधन र अधिकारको सीमाभित्र रहेर इमानदारीपूर्वक काम गर्ने प्रयास गरेका छौँ।
• शिक्षा क्षेत्रमा के–कस्ता काम भएका छन् ?
हामी ‘शिक्षा विकासको मेरुदण्ड हो’ भन्ने कुरामा दृढ छौँ। त्यसैले विद्यमान शिक्षालाई प्रतिस्पर्धी, सीपमूलक, गुणस्तरीय, व्यावहारिक, प्राविधिक, अनुसन्धानमूलक तथा उत्पादनशील बनाउने उद्देश्यका साथ काम गरेका छौँ।
शिक्षा क्षेत्रमा आवश्यक दक्ष जनशक्ति व्यवस्थापनका लागि घुम्ती शिक्षकको व्यवस्था गरिएको छ। शिक्षण विधि र सिकाइ क्रियाकलापलाई अझ प्रभावकारी बनाउन संगीत, योगालगायत विभिन्न विषयका शिक्षक व्यवस्थापन गरेका छौँ।
विद्यालय भवन निर्माण तथा मर्मत, घेराबार, खेलमैदान, शैक्षिक सामग्री व्यवस्थापन, अभिभावक अभिमुखीकरण, खोज तथा अनुसन्धानमूलक तालिम, प्रदर्शनी, अवलोकन भ्रमण, अनुगमन तथा नियमन, अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेका छौँ।
त्यस्तै अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम, डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययनको व्यवस्था, विभिन्न खेलकुद तथा अनुशिक्षण कार्यक्रम र आवश्यक शैक्षिक तथा भौतिक पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखेका छौँ।
हाम्रो उद्देश्य विद्यालयमा विद्यार्थीको संख्या बढाउनु मात्र नभई शिक्षालाई सीप, रोजगारी र उत्पादनसँग जोड्नु पनि हो।
• स्वास्थ्य क्षेत्रमा भएका कामबारे बताइदिनुस् न ?
स्वास्थ्य नागरिकको आधारभूत अधिकार हो। त्यसैले गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच र गुणस्तर विस्तारलाई प्राथमिकतामा राखेको छ।
ज्येष्ठ नागरिकका लागि होल बडी स्वास्थ्य परीक्षण, विपन्न परिवारका सदस्यलाई उपचार खर्चबापत रु. १० हजारदेखि २५ हजारसम्म सहयोग उपलब्ध गराएका छौँ।
महिलासम्बन्धी पाठेघर तथा अन्य रोगको उपचारका लागि स्वास्थ्य शिविर सञ्चालन, दीर्घरोगसम्बन्धी सचेतना तथा निःशुल्क स्वास्थ्य परीक्षण, सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा, स्वास्थ्य स्वयंसेविकालाई नगद प्रोत्साहन तथा आवश्यकतामा आधारित स्वास्थ्यकर्मीका लागि तालिम सञ्चालन गरेका छौँ।
बेथानचोक गाउँपालिकास्तरीय १० शय्याको अस्पताल निर्माण तथा ५ शय्याको अस्पताल निर्माण सम्पन्न भएको छ। वडा नं. ५ मा स्वास्थ्य चौकी भवन निर्माण भएको छ भने वडा नं. ६ सिउरानीमा स्वास्थ्यकर्मी आवास भवन निर्माणा भईसकेको अवस्थामा छ।
आगामी दिनमा पनि नागरिकले सामान्य स्वास्थ्य उपचारका लागि टाढा जानुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो लक्ष्य छ।
• संघ र प्रदेश सरकारको सहयोग कस्तो रह्यो ?
संघ र प्रदेश सरकारबाट प्राप्त सहयोगलाई स्थानीय आवश्यकता र जनताको हितमा उपयोग गर्ने प्रयास गरेका छौँ। सहयोग ठिकै छ, तर स्थानीय तहको आवश्यकता, जनसंख्या, भूगोल र सम्भावनाका आधारमा अझै पर्याप्त स्रोत तथा बजेट आवश्यक छ।
विशेषगरी ‘उपाध्यक्षसँग महिला’ कार्यक्रममार्फत महिला उद्यमशीलता विकास, नेतृत्व तथा व्यक्तित्व विकास, कानुनी सचेतना, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक लक्षित विभिन्न क्षमता तथा सीप विकासका कार्यक्रम सञ्चालन भएका छन्।
कृषक महिलालाई लप्सीको माडापाक तथा क्यान्डी बनाउने तालिम, ढाका बुनाइ, सिलाइ–कटाइ, ब्युटिसियन, उद्घोषण कला, वक्तृत्वकला, लोकगीत तथा कविता प्रतियोगिता, सडक नाटक, र्याली, विभिन्न दिवस तथा स्थानीय पर्वसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका छौँ।
तीज, ल्होसारलगायत स्थानीय संस्कृति तथा पर्वको संरक्षण र प्रवर्द्धनसँगै लक्षित वर्गका लागि अनुदान तथा क्षमता विकासका कार्यक्रम पनि सञ्चालन गरेका छौँ।
• बेथानचोकका अधिकांश नागरिकको मुख्य पेसा कृषि हो। कृषि क्षेत्रलाई कत्तिको प्राथमिकता दिनुभएको छ ?
कृषि बेथानचोकको अर्थतन्त्रको प्रमुख आधार हो। कृषि क्षेत्रको विकासबिना स्थानीय समृद्धि सम्भव छैन भन्ने हाम्रो स्पष्ट बुझाइ छ। त्यसैले कृषिलाई उच्च प्राथमिकतामा राखेका छौँ।
विपन्न किसान तथा महिलालाई भैँसी वितरण तथा प्रवर्द्धन, विशेषगरी वडा नं. १ मा कार्यक्रम सञ्चालन, भकारो सुधार, कृषि यन्त्र तथा उपकरण वितरण, उन्नत बीउबिजन तथा बोका वितरण, पाडापाडी तथा बाख्रा वितरण, टनेल खेती, किवी खेती विस्तार, स्याउ तथा सुन्तला प्रवर्द्धन, मौरीपालन, आलु तथा भैँसी प्रवर्द्धन, सुपरजोन कार्यक्रम सञ्चालन गरेका छौँ।
त्यसैगरी कृषि पर्यटन तथा उद्यमशीलता विकास, सिँचाइ, रिचार्ज पोखरी निर्माण, तरकारी खेती, दुग्ध उत्पादन, रैथाने बाली संरक्षण, चिया खेती, घाँस उत्पादन, दुग्ध डेरी, कृषि सडक निर्माण, कृषि समूह गठन तथा सामूहिक, सहकारी र संस्थागत व्यावसायिक खेती प्रणालीको विकासमा जोड दिएका छौँ।
पशुपालनतर्फ कृत्रिम गर्भाधान (A.I.) सेवा विस्तार तथा लम्पी स्किन भाइरस नियन्त्रणका लागि निःशुल्क सेवा र आवश्यक कार्यक्रमलाई पनि तीव्रता दिएका छौँ।
अब कृषिलाई परम्परागत निर्वाहमुखी पेसाबाट व्यावसायिक, आधुनिक र आयआर्जनको प्रमुख माध्यमका रूपमा विकास गर्न आवश्यक छ।
• युवा पुस्ताका लागि के–कस्ता योजना छन् ?
युवा हाम्रो विकासको मुख्य शक्ति हुन्। युवालाई विदेश जानुपर्ने बाध्यता कम गर्दै आफ्नै गाउँठाउँमा रोजगारी र उद्यम गर्ने वातावरण निर्माण गर्नु हाम्रो प्राथमिकता हो।
युवा स्वरोजगारका लागि वित्तीय सहयोग तथा सहुलियतपूर्ण कर्जाको व्यवस्था, करिब ५ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा, आवश्यक सीप तथा तालिमको व्यवस्था गर्ने योजनामा छौँ।
कृषि, पर्यटन, पशुपालन, सूचना प्रविधि, घरेलु तथा साना उद्योगलगायतका क्षेत्रमा युवालाई जोडेर स्थानीय रोजगारी सिर्जना गर्ने, उद्योग तथा कलकारखाना स्थापना गर्न प्रोत्साहन गर्ने तथा उद्यमशीलताको वातावरण तयार गर्ने नीति तथा कार्यक्रम निर्माणमा काम गरिरहेका छौँ।
• पर्यटन क्षेत्रलाई कसरी अगाडि बढाउने योजना छ ?
बेथानचोकमा धार्मिक, प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक तथा कृषि पर्यटनको ठूलो सम्भावना छ। यी सम्भावनालाई एकीकृत रूपमा विकास गर्न सके स्थानीय नागरिकको आयआर्जन र रोजगारीमा ठूलो योगदान पुग्न सक्छ।
पर्यटन विकासका लागि सडक पूर्वाधारलाई प्राथमिकतामा राखेका छौँ। ६ वटै वडा कार्यालय तथा गाउँपालिका कार्यालयलाई सहज रूपमा जोड्ने लक्ष्य राखेका छौँ।
पनौती–खोपासी–च्याम्राङबेँसी हुँदै फापरबारी हुँदै हेटौंडा जोड्ने सडक तथा खोपासी–कामीडाँडा–तालढुंगा सडकलाई व्यवस्थित तथा स्तरोन्नति गर्ने विषयमा पनि पहल भइरहेको छ।
धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक संरचना र सम्पदाको खोज, अनुसन्धान तथा पहिचान गरी संरक्षण र प्रवर्द्धन गर्ने, रैथाने बाली, स्थानीय उत्पादन, हस्तकला तथा संस्कृतिको विकास गर्ने योजना छ।
मन्दिर, गुफा, गुम्बा, वन तथा प्राकृतिक सम्पदालाई जोडेर गौरवका पर्यटन योजना निर्माण गर्ने, व्यावसायिक होटल, रिसोर्ट तथा होमस्टे सञ्चालनका लागि मैत्रीपूर्ण वातावरण तयार गर्ने, इको–टुरिजम विकास गर्ने र पर्यटकको सुरक्षा तथा आवश्यक सूचना उपलब्ध गराउने व्यवस्था मिलाउने लक्ष्य छ।
पर्यटनबाट स्थानीय जनताले प्रत्यक्ष लाभ पाउने वातावरण बनाउन स्थानीय युवा तथा समुदायको सहभागिता बढाउनु पनि हाम्रो प्राथमिकता हो।
चार वर्षको कार्यकाल पूरा हुँदै गर्दा आगामी दिनमा कुन कामलाई प्राथमिकता दिनुहुन्छ ?
अबको प्राथमिकता चार वर्षमा सुरु भएका तथा अधुरा रहेका योजनालाई प्रभावकारी रूपमा सम्पन्न गर्ने र जनताको आवश्यकता तथा अपेक्षाअनुसार नयाँ कार्यक्रम अघि बढाउने हो।
भौतिक पूर्वाधार विकाससँगै शैक्षिक, सामाजिक तथा मानवीय विकास, सामाजिक न्याय, सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक पारदर्शिता र मितव्ययिता, जनहित, स्थानीय आर्थिक विकास, सांस्कृतिक संरक्षण, धार्मिक तथा पर्यटन विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा विशेष ध्यान दिनेछौँ।
विकास भनेको सडक, पुल र भवन निर्माण मात्र होइन। नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु नै वास्तविक विकास हो। त्यसैले पूर्वाधारसँगै मानव विकास, उत्पादनसँगै रोजगारी र विकाससँगै सामाजिक न्यायलाई जोडेर काम गर्ने हाम्रो संकल्प छ।
• २०८१ असोज १०–१२ गतेको बाढीपहिरोले बेथानचोकमा ठूलो क्षति पुर्यायो। त्यसबेला गाउँपालिकाले कसरी काम गर्यो ?
२०८१ साल असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले बेथानचोक गाउँपालिकामा ठूलो क्षति पुर्यायो। बाढीपहिरोका कारण सडक तथा यातायात सेवा अवरुद्ध हुनुका साथै विद्युत् सेवा बन्द भयो। कतिपय ठाउँमा सडक, पुल, खानेपानीका संरचना तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको थियो। नागरिकको दैनिक जीवनसमेत प्रभावित भएको अवस्था थियो।
त्यो समय हामी सबैका लागि अत्यन्तै चुनौतीपूर्ण थियो। विपद्को अवस्थामा गाउँपालिकाले उपलब्ध स्रोत–साधनको अधिकतम परिचालन गर्दै प्रभावित क्षेत्रको तत्कालीन अवस्था पहिचान, उद्धार तथा राहत, अवरुद्ध सडक सञ्चालन, विद्युत् सेवा पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय र नागरिकलाई आवश्यक सहयोग गर्ने काम गर्यो।
विशेषगरी सडक तथा यातायात अवरुद्ध हुँदा नागरिकलाई आवतजावतमा निकै कठिनाइ भएको थियो। विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य, सञ्चार, खानेपानीलगायतका अत्यावश्यक सेवासमेत प्रभावित भए। त्यसैले सम्बन्धित निकाय, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय युवा तथा नागरिकको सहकार्यमा अवरुद्ध सेवा यथाशीघ्र सञ्चालन गर्न पहल गर्यौँ।
• त्यस विपद्बाट गाउँपालिकाले के सिक्यो ?
विपद् कहिल्यै सूचना दिएर आउँदैन। २०८१ असोजको बाढीपहिरोले हामीलाई पूर्वतयारी, तत्काल उद्धार, राहत तथा दीर्घकालीन विपद् व्यवस्थापन अझ प्रभावकारी बनाउनुपर्ने पाठ सिकाएको छ।
अब सडक निर्माण गर्दा भूगोल र वातावरणीय जोखिमलाई समेत ध्यान दिनुपर्ने, जोखिमयुक्त बस्ती तथा सडकको पहिचान गर्ने, विपद्का बेला तत्काल परिचालन गर्न सकिने जनशक्ति तथा आवश्यक सामग्री तयारी अवस्थामा राख्ने र स्थानीय तहमा विपद् प्रतिकार्य क्षमता अझ बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेका छौँ।
त्यसैगरी वर्षायाममा सडक, विद्युत्, खानेपानी तथा सञ्चार सेवा अवरुद्ध हुँदा नागरिकले भोग्नुपर्ने समस्या न्यूनीकरण गर्न सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउन आवश्यक छ।
• विपद्बाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनामा के काम भइरहेको छ ?
विपद्बाट क्षति पुगेका सडक, खानेपानी, विद्युत् तथा अन्य सार्वजनिक संरचनाको पुनःस्थापना र मर्मतसम्भारलाई प्राथमिकताका साथ अघि बढाएका छौँ। तत्कालीन समस्या समाधानसँगै भविष्यमा त्यही प्रकृतिको क्षति दोहोरिन नदिन दिगो र जोखिम न्यूनीकरणमा आधारित पूर्वाधार निर्माणमा जोड दिनुपर्ने आवश्यकता छ।
बेथानचोकको भौगोलिक अवस्था र वर्षायाममा हुने जोखिमलाई ध्यानमा राख्दै सडक तथा अन्य पूर्वाधार निर्माणमा गुणस्तर, वातावरणीय प्रभाव र विपद् जोखिमलाई समेत विचार गरेर अघि बढ्ने नीति लिएका छौँ।
विपद् व्यवस्थापन सरकारको मात्र जिम्मेवारी होइन। स्थानीय समुदाय, युवा, स्वयंसेवक, सुरक्षा निकाय, स्वास्थ्यकर्मी र सबै सरोकारवालाको सहकार्य आवश्यक हुन्छ। त्यसैले आगामी दिनमा समुदायस्तरमै विपद् पूर्वतयारी, सचेतना र प्रतिकार्य क्षमता विकास गर्ने कामलाई पनि प्राथमिकता दिनेछौँ।
• ज्येष्ठ नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रियालाई पनि प्राथमिकता दिनुभएको छ। यस विषयमा के–कस्ता काम गर्नुभयो ?
ज्येष्ठ नागरिक हाम्रो समाजका अनुभव, ज्ञान र इतिहासका जीवित स्रोत हुनुहुन्छ। उहाँहरूको सम्मान, संरक्षण र सामाजिक सुरक्षालाई स्थानीय सरकारको महत्वपूर्ण दायित्वका रूपमा लिएका छौँ। त्यसैले चार वर्षको अवधिमा ज्येष्ठ नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई पनि प्राथमिकतामा राखेर अघि बढाएका छौँ।
गाउँपालिकाका विभिन्न वडामा पुगेर ज्येष्ठ नागरिकसँग भेटघाट गर्ने, उहाँहरूका समस्या, आवश्यकता र अपेक्षा प्रत्यक्ष रूपमा सुन्ने तथा स्थानीय सरकारबाट गर्न सकिने सहयोगका विषयमा छलफल गर्ने गरेका छौँ। यसबाट ज्येष्ठ नागरिकका वास्तविक समस्या पहिचान गर्न र नीति तथा कार्यक्रम निर्माणमा उहाँहरूको सुझाव समेट्न सहज भएको छ।
स्वास्थ्यतर्फ ज्येष्ठ नागरिकका लागि होल बडी स्वास्थ्य परीक्षण तथा स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेका छौँ। उहाँहरूको स्वास्थ्य अवस्था, नियमित औषधि सेवन, उपचारमा पहुँच तथा अन्य आवश्यकताका विषयमा समेत ध्यान दिएका छौँ।
त्यसैगरी सामाजिक सुरक्षा भत्ता तथा राज्यबाट प्राप्त हुने सेवासुविधा सहज रूपमा उपलब्ध गराउने, ज्येष्ठ नागरिकलाई सम्मानजनक जीवनयापनका लागि आवश्यक वातावरण निर्माण गर्ने तथा परिवार र समुदायमा उहाँहरूको भूमिका र योगदानको सम्मान गर्ने विषयमा पनि जोड दिएका छौँ।
हाम्रो उद्देश्य ज्येष्ठ नागरिकलाई केवल सामाजिक सुरक्षाको लाभग्राहीका रूपमा हेर्नु होइन, उहाँहरूको ज्ञान, अनुभव र सीपलाई नयाँ पुस्तासँग जोड्नु पनि हो। उहाँहरूले जीवनभर समाज र राष्ट्रका लागि गरेको योगदानलाई सम्मान गर्दै पुस्तान्तरणको माध्यमबाट उहाँहरूको अनुभवलाई संरक्षण गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ।
आगामी दिनमा पनि ज्येष्ठ नागरिकसँग नियमित भेटघाट तथा अन्तरक्रिया, स्वास्थ्य परीक्षण, सम्मान तथा सामाजिक सहभागिताका कार्यक्रमलाई अझ व्यवस्थित बनाउने योजना छ। स्थानीय सरकार जनताको घरदैलोमा पुग्नुपर्छ भन्ने मान्यताअनुसार ‘जनतासँग स्थानीय सरकार’ को अवधारणालाई व्यवहारमै कार्यान्वयन गर्ने प्रयास गरिरहेका छौँ।
• चार वर्षको अवधिमा तपाईंले भोग्नुभएको मुख्य चुनौती के हो ?
स्थानीय तहमा सीमित स्रोत–साधन, ठूलो भौगोलिक क्षेत्र, नागरिकका बढ्दो अपेक्षा र आवश्यकताबीच काम गर्नुपर्ने अवस्था चुनौतीपूर्ण छ। सबै क्षेत्रमा एकैपटक काम गर्न सम्भव हुँदैन।
तर उपलब्ध स्रोत–साधनलाई प्राथमिकताका आधारमा परिचालन गर्दै जनताको तत्कालीन आवश्यकता सम्बोधन गर्ने प्रयास गरेका छौँ। संघ, प्रदेश, स्थानीय सरकार, नागरिक समाज, निजी क्षेत्र तथा समुदायबीचको सहकार्य अझ मजबुत बनाउन सके विकासका कामलाई थप प्रभावकारी बनाउन सकिन्छ।
• अन्त्यमा बेथानचोकवासी र त्रिकालदर्शनका पाठकलाई के भन्न चाहनुहुन्छ ?
अन्त्यमा त्रिकालदर्शन डटकमलाई आफ्ना विचार, गाउँपालिकाका गतिविधि र जनताका विषयमा धारणा राख्ने अवसर दिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु।
मलाई जनप्रतिनिधिका रूपमा सेवाको जिम्मेवारीमा पुर्याउनुहुने सम्पूर्ण बेथानचोकवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनी, समर्थक, शुभचिन्तक, सहयोगी तथा समस्त नागरिकप्रति हार्दिक आभार व्यक्त गर्दछु।








