मानिसले प्रगति भन्नासाथ प्रायः घर, गाडी, धन, पद र बैंक ब्यालेन्स देख्छ। तर यी जीवनका देखिने उपलब्धि मात्र हुन्। वास्तविक प्रगति त्यहाँबाट सुरु हुन्छ, जहाँ बाहिरी आँखाले देख्न सक्दैन।
हिजो जसले अपमान गर्दा मन अशान्त हुन्थ्यो, आज त्यही अपमानले मन नहल्लिनु प्रगति हो। हिजो अरूको सफलतासँग आफूलाई तुलना गर्ने मन, आज अरूको उन्नतिमा निस्वार्थ खुसी हुन सक्नु प्रगति हो। धेरै कमाएर पनि मन खाली हुनु समृद्धि होइन; थोरैमा पनि मन शान्त, नियत सफा र निद्रा निर्मल हुनु नै गहिरो समृद्धि हो।
घर ठूलो हुँदै जानु उपलब्धि हो, तर मन ठूलो हुँदै जानु प्रगति हो।
सम्पत्ति बढ्नु सफलता हो, तर लोभ घट्नु विजय हो।
मानिसहरू बढ्नु सम्बन्ध हो, तर आफूसँगको सम्बन्ध गहिरिनु आत्मिक उन्नति हो।
जीवनको अन्तिम हिसाबमा मानिसले कति कमायो भन्दा पनि, कति निर्मल भयो, कति प्रेम बाँड्यो, कति क्षमा गर्न सिक्यो र आफ्नो अन्तर्मनमा कति शान्ति भेट्टायो सायद वास्तविक प्रगतिको मापदण्ड यही हो।
किनकि संसारले देख्ने प्रगति समयसँगै हराउन सक्छ;
तर भित्र जन्मिएको शान्ति, विवेक र आत्मिक परिपक्वता त्यही मानिसको साँचो सम्पत्ति हो।
“यत्रो वर्ष विदेश बसेर के प्रगति गर्यौ?”
कसैले मलाई सोध्यो यत्रो वर्ष विदेश बसेर तिम्रो प्रगति खोइ?”
म केही क्षण मौन भएँ। किनकि मेरो प्रगतिको हिसाब बैंकको खातामा मात्र छैन, न त घर–जग्गा र देखिने सम्पत्तिमा मात्र छ।
हो, केही कमाएँ होला, केही गुमाएँ पनि होला। तर यो यात्रामा मैले धनभन्दा महँगो कुरा पनि कमाएँ मानिस चिन्न सिकेँ, दुःख सहन सिकेँ, आफ्नै आँसु आफैं पुछ्न सिकेँ र जीवनको वास्तविक अर्थ बुझ्न थालेँ।
परिवारलाई सुख दिन खोज्दा कहिलेकाहीँ आफ्नै समय, आफ्नै खुसी र आफ्नै मन कताकता ऋण र जिम्मेवारीको भारीमुनि थिचिँदै गएछ। बाहिरबाट हेर्दा जीवन चलेको देखिन्थ्यो, तर भित्र कतै एउटा प्रश्न सधैं बाँचेको थियो “के यही मात्र प्रगति हो?”
आज बुझ्दैछु घर ठूलो हुनु मात्र प्रगति रहेनछ, घरभित्र प्रेम बाँकी रहनु प्रगति रहेछ।
बैंक भरिनु मात्र समृद्धि रहेनछ, मन खाली नहुनु समृद्धि रहेछ।
अरूले सफल देख्नु मात्र उपलब्धि रहेनछ, भगवानको नजरमा आफ्नो नियत निर्मल हुनु नै सबैभन्दा ठूलो उपलब्धि रहेछ।
यदि आज मेरो जीवनमा धेरै धन छैन भने पनि, मसँग अझै प्रेम छ, परिवारको माया छ, केही आफ्ना मानिसहरूको न्यानोपन छ, र सबैभन्दा ठूलो कुरा भगवानको चरणमा राख्न सक्ने एउटा थाकेको तर अझै जीवित हृदय छ।
सायद मेरो प्रगति संसारले देखेन।
सायद मैले पनि धेरै ढिलो बुझें।
तर आज जब अरूको आँखाले होइन, भगवानको आँखाबाट आफ्नो जीवन हेर्छु, तब लाग्छ— मैले केही गुमाएको मात्र होइन, धेरै कुरा पाएछु। दुःखभित्र धैर्य पाएँ, एकान्तभित्र आफूलाई पाएँ, आँसुमा करुणा पाएँ, र अन्ततः बाहिरी संसारले नदिएको एउटा आनन्द आफ्नै अन्तरात्माभित्रबाट बिस्तारै बगिरहेको शान्ति पाएँ।
त्यसैले मेरो प्रगति खोज्न बैंकको खातामा मात्र नहेर्नुहोस्।
मेरो मौनतामा हेर्नुहोस्, मेरो व्यवहारमा हेर्नुहोस्, मेरो क्षमामा हेर्नुहोस्, मेरो आँखाको शान्तिमा हेर्नुहोस्।
किनकि जीवनको अन्तिम सत्य यही रहेछ
संसारको नजरमा सफल हुनु ठूलो कुरा होइन; भगवानको नजरमा निर्मल हुँदै जानु नै जीवनको सबैभन्दा गहिरो प्रगति रहेछ।
सुधारस तिमल्सिना








