नयाँ पुस्ता, नयाँ चेतना Gen-Z केन्द्रित पुस्तक सार्वजनिक

काभ्रे / “पुरानो कोट लगाऔँ, नयाँ पुस्तक किनौँ” भन्ने सन्देशसहित डा. श्याम भट्टराई र गुमानसिं तामाङद्वारा लिखित ‘परिवर्तनका आयामहरू Gen-Z विद्रोह–२०८२’ नामक पुस्तकको सार्वजनिककरण कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ।
चैतन्य क्याम्पस, बनेपा–७, काभ्रेमा सम्पन्न उक्त कार्यक्रममा साहित्यप्रेमी, बौद्धिक वर्ग, विद्यार्थी, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम बिहान ११:०० बजे सुरु भई सौहार्दपूर्ण तथा विचारमूलक वातावरणमा सम्पन्न भयो।
कार्यक्रमका क्रममा वक्ताहरूले पुस्तकले समेटेका विषयवस्तु, समकालीन समाजमा Gen-Z पुस्ताको भूमिका, परिवर्तनका आयामहरू तथा वैचारिक चेतनाबारे प्रकाश पारे। लेखकद्वयले पुस्तक लेखनको उद्देश्य, सन्देश र भावी पुस्ताप्रति पुस्तकले दिन खोजेको दृष्टिकोणबारे आफ्ना विचार प्रस्तुत गरे।
उक्त कार्यक्रमका प्रकाशक हुद्धराज तिमिल्सिनाले पुस्तकले समाजमा वैचारिक बहस र सकारात्मक परिवर्तनको ढोका खोल्ने विश्वास व्यक्त गरे। साथै सहआयोजक लोकतान्त्रिक विचार समाज काभ्रेको सक्रिय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
कार्यक्रमले साहित्य, विचार र सामाजिक परिवर्तनप्रति चासो राख्ने पाठकहरूका लागि प्रेरणादायी सन्देश दिएको सहभागीहरूको प्रतिक्रिया रहेको थियो।





Post Comment