ललितपुर , २०८३ असोज २१ / श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको बागमती प्रदेश, ललितपुर जिल्ला समिति अन्तर्गत इमाडोल प्रारम्भिक समितिको आयोजनामा ११औँ राष्ट्रव्यापी प्रणामी कप फुटसल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ।
प्रतियोगिता आगामी २०८३ असोज २४ र २५ गते ललितपुरको इमाडोलस्थित बलपार्क फुटसल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ। युवापुस्तालाई खेलकुदसँग जोड्दै एकता, अनुशासन, भाइचारा तथा स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगितामा विभिन्न स्थानबाट प्रणामी समुदायसँग आबद्ध टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। खेलकुदका माध्यमबाट युवाबीच आपसी सम्बन्ध, सहकार्य र सद्भावलाई थप मजबुत बनाउने लक्ष्य आयोजकले लिएको छ।
प्रतियोगिताको यस संस्करणमा खेल सञ्चालनको ढाँचामा समेत परिवर्तन गरिएको छ। दशौँ संस्करणसम्म टोलीहरू नकआउट प्रणालीबाट प्रतिस्पर्धा गर्दै आएका थिए भने यसपटक एघारौँ संस्करणदेखि लिग फर्म्याट लागू गरिएको कार्यक्रमका सह–संयोजक नवराज दाहालले जानकारी दिए।
दाहालका अनुसार नयाँ फर्म्याटले प्रतियोगितालाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउनुका साथै सहभागी टोलीलाई आफ्नो खेल प्रदर्शन गर्ने थप अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
यसैबीच, प्रतियोगिताका सम्पूर्ण खेल तथा गतिविधिको प्रत्यक्ष प्रसारण श्रीकृष्ण प्रणामी सेवा समिति नेपालअन्तर्गत सञ्चालित प्रणामी सञ्चारमार्फत हुने भएको छ। प्रतियोगितालाई प्रत्यक्ष रूपमा दर्शकसमक्ष पुर्याउने गरी प्रसारणको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितालाई सफल तथा भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण प्रणामी समुदाय, खेलप्रेमी, शुभेच्छुक तथा सरोकारवालाहरूलाई सहयोग, सहभागिता र उपस्थितिका लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।
२०८३ असोज २४ र २५ गते इमाडोलस्थित बलपार्क फुटसल मैदानमा हुने प्रतियोगितामा खेलाडी, समर्थक तथा खेलप्रेमीहरूको उत्साहजनक सहभागिता रहने आयोजकले विश्वास व्यक्त गरेको छ।









