ललितपुर , २०८३ असोज १३ / त्याग, तपस्या र बलिदानले मानिसलाई महान् बनाउँछ। एकजनाको त्यागले अर्काको भलो हुन्छ। त्यागी मानिसलाई सबैले रुचाउँछन्, आदर–सम्मान गर्छन्। त्यागमा छलकपट हुँदैन, त्यसैले त्यसबाट उपकार हुन्छ। दुष्ट र बेइमान मानिससमेत त्यागी व्यक्तिको वरिपरि शिर झुकाएर सज्जन बन्न पुग्छन्। त्यागबाट चरित्र निर्माण हुन्छ। त्यागीहरूको संगतबाट मानिस सज्जन, क्रियाशील र धर्मात्मा बन्न सक्छ। त्यागकै बलमा व्यक्ति, समाज तथा राष्ट्रले मुक्ति पाउँछ।
यस्ता त्यागी व्यक्तिहरू धेरैमध्ये एक हुन्छन्। उनीहरू पूजनीय हुन्छन् र सधैँ अमर रहिरहन्छन्। श्रीकृष्ण प्रणामी समाजमा त्यागका धनी त्यस्तै महान् व्यक्तित्वको नाम हो—परमहंस श्री १०८ युगलदास महाराज।
पुर्ख्यौली पृष्ठभूमि
महाराज श्री युगलदासजीको पुर्ख्यौली घर काभ्रे जिल्लाको ढुंखर्क भन्ने गाउँमा पर्दछ। त्यहाँको तिमिल्सिना परिवार पहिलेदेखि नै श्रीकृष्ण प्रणामी धर्ममा आस्था राख्दै आएको थियो। परिवारले राधाकृष्णको मन्दिर निर्माण गरी कृष्णभक्तिमा आफूलाई समर्पित गरेको थियो।
गहुँ, मकै प्रशस्त उत्पादन गर्ने तथा भैँसीगोठ राखी दूध–घ्यूका लागि समेत नाम चलेको उक्त परिवार धर्मका लागि ज्यान दिनसमेत तयार हुने धार्मिक परिवारका रूपमा परिचित थियो।
शिक्षा–दीक्षा आर्जन गर्ने उद्देश्यले यसै परिवारका लक्ष्मण तिमिल्सिनासहित अन्य दुई भाइ आधा रातमा भैँसीगोठबाट निस्किएर पनौतीको बाटो हुँदै भकुण्डेबेंसीबाट भारततिर लागेका थिए। उनीहरूले विभिन्न स्थानमा साधु–सन्त तथा महात्माहरूको संगतमा रही धार्मिक शिक्षा हासिल गरे।
लक्ष्मण तिमिल्सिना अत्यन्त धर्मप्रेमी र सेवाभावी भएकाले बम्बईस्थित श्रीकृष्ण मन्दिरमा पुजारी भएर बस्नुभयो। त्यहाँ उहाँको नाम ‘सेवादास’ राखिएको थियो।
सोही क्रममा पश्चिम दुल्लुका नन्दकिशोर उपाध्यायसँग उहाँको भेट भयो। नन्दकिशोर उपाध्यायले आफ्नी छोरी सुन्दरबाईसँग पुजारी लक्ष्मण तिमिल्सिनाको विवाह गरिदिए। यिनै सुन्दरबाईको गर्भबाट वि.सं. १९५३ सालमा श्री युगलदासजी महाराजको जन्म भएको हो।
कुलोको डिलमा भएको जन्म
महात्मा युगलदासजीकै मुखबाट सुनेअनुसार उहाँको जन्मसँग जोडिएको घटना अत्यन्त रोचक छ।
पिता लक्ष्मण तिमिल्सिना र माता सुन्दरबाई श्री नवतनपुरी धामको मेलामा सहभागी हुन भारत गएका थिए। त्यही क्रममा उनीहरूको कालिम्पोङ इच्छे मन्दिरका राजबाईसँग भेट भयो। मेला समाप्त भएपछि दुवै जना उहाँकै जमातमा सामेल भई गान–बजान गर्दै कालिम्पोङ पुगे र मन्दिरको सेवामा लागेर बस्न थाले।
गर्भमा रहेको बच्चा जन्माउने समय आयो। सुत्केरी अवस्थामा मन्दिरमा बस्न असजिलो हुने भएकाले प्रसव व्यथाले छटपटाइरहेकी सुन्दरबाई मन्दिरदेखि तल साथीको घरमा बस्न ओरालो झर्दै थिइन्। खेतको बाटो हुँदै जाँदा बाटो नजिकै कुलो रहेछ। केहीबेर आराम गर्न कुलोको डिलमा थचक्क बसेका बेला व्यथाले च्यापिसकेको अवस्थामा आश्विन शुक्ल द्वितीयाका दिन त्यही कुलोमा बालकको जन्म भयो।
जन्मिएपछि बच्चालाई पानीले केही परसम्म बगाएर लग्यो। आमाले पछि गएर बच्चालाई समाती काखी च्यापिन् र साथीको घरमा पुगेर एक महिनासम्म बसिन्।
गुरुमाता राजबाईबाट युगलदासजीको पालनपोषणमा ठूलो सहयोग मिल्यो। त्यसैले बालक युगलदासजीले कालिम्पोङ इच्छे मन्दिरमै आफ्नो बाल्यकाल बिताउनुभयो। उहाँको अक्षरारम्भ पनि त्यहीँ भयो। सेवा–पूजा, कृष्णभक्ति र वैराग्यमय जीवनको पूर्वाधारसमेत त्यहीँबाट सुरु भयो।
सत्संगबाट जागेको आध्यात्मिक चेतना
साधु, सन्त, त्यागी तथा वैरागीहरूसँग बिहान–बेलुका हुने सत्संग, चर्चा र कथाबाट उहाँमा अपूर्व ज्ञान प्राप्त भयो। उहाँमा तारतम्य वाणीको गहिरो अध्ययन गर्ने इच्छा जाग्यो। साथै भगवान् श्रीकृष्णको दर्शन गर्ने अभिलाषा पनि झन् प्रबल हुँदै गयो।
पिताजीको साथमा घुम्दै उहाँले दार्जिलिङ, गुवाहाटी, तेजपुर, धुलाबारी तथा सिक्किमसम्मको यात्रा गर्नुभयो। यस यात्राका क्रममा निजानन्द सम्प्रदायको अध्ययन गर्ने, गुरु–भक्ति तथा सुन्दर सखीसँग उत्पन्न अलौकिक प्रेमको अनुभव र अनुशरण गर्ने अवसर प्राप्त भयो।
सिक्किमको सिमटार बजारबाट उहाँ र उहाँका पिता लक्ष्मण तिमिल्सिनाको गन्तव्य छुट्टियो। पिताजीलाई छोडेर युगलदासजी ‘मैले बालकृष्णको दर्शन पाउनुपर्छ’ भन्ने एकाग्रचित्त भावनाका साथ दार्जिलिङतर्फ लाग्नुभयो।
अलपत्र अवस्थामा कहाँ जाऊँ भन्ने चिन्तामा एउटा काठको फलैँचामा बसेर सोचिरहँदा अकस्मात् कुहिरोले ढाकेको अवस्थामा आफूले कल्पना गरेजस्तै हातमा मुरली लिएको बालक प्रकट भएको र सान्त्वना दिँदै ‘तिम्रो इच्छा पूरा हुनेछ’ भनी आशीर्वाद दिएर जानुभएको भन्ने कुरा उहाँकै हस्तलिखित जीवनीमा उल्लेख गरिएको छ।
श्रीमुखवाणीको अध्ययन र साधनायात्रा
सन्त युगलदासजीमा श्रीमुखवाणीको अध्ययन, चर्चा, लेखन तथा पठन गर्ने प्रबल इच्छा थियो। तर समयले सधैँ साथ दिएको थिएन। उहाँ जहाँ गए पनि सेवापूजाको पुस्तक, लालदासको वितक, परमधाम मूलमिलावाको फोटो, आरती, चन्दन, खोरी, चन्दन घोट्ने चनौटो, चौको सुकुली, घ्यूबत्ती, महाप्रसाद तथा लगाउने लुगाको कुम्लो साथमा राख्नुहुन्थ्यो।
उहाँको दैनिक नियम अत्यन्त अनुशासित थियो। बिहान तीन बजे उठेर स्नान गर्ने, पूजा, पाठ, जप तथा ध्यान सकेपछि मात्र भोजन गर्ने उहाँको नियम थियो।
नेपाल र भारतका विभिन्न स्थानमा घुमेर १४ वर्षको उमेरमा उहाँ पुनः कालिम्पोङ पुग्नुभयो। गुरुमाता राजबाईको सहयोग र प्रेरणाबाट श्रीमुखवाणीको तालिम लिने निधो गर्नुभयो।
तालिमका लागि श्रीपञ्चमीको दिन पारेर परमहंस दयालदास महाराजजीबाट ‘रास किताब’का प्रथम तीन चौपाईको अर्थ प्राप्त गर्नुभयो। यसै क्रममा कालिम्पोङ, पद्मावतीपुरी तथा नवतनपुरीको सेरोफेरोमा घुम्दै निजानन्द सम्प्रदायका विविध ग्रन्थहरूको अध्ययन पूरा गर्नुभयो।
बर्सारमा रहँदा उहाँले परमधामको नक्सा आफ्नै हातले बनाई विभिन्न ठाउँका मन्दिरमा चढाउनुभयो।
धर्मप्रचारमा समर्पित जीवन
श्रीमुखवाणी आचार्य पद प्राप्त गरेपछि युगलदासजी नेपाल, भारत, सिक्किम तथा भुटानका विभिन्न स्थान र बस्तीमा पुग्नुभयो। सत्य र अहिंसाको व्रत पालना गर्दै उहाँले जीवनभर श्रीकृष्ण प्रणामी सम्प्रदायको प्रचार–प्रसारमा आफूलाई समर्पित गर्नुभयो।
जीवन यात्राका क्रममा आचार्यजीले अनेकौँ सुख–दुःखका क्षणहरू पार गर्नुभयो।
प्रकाश किताबको तालिम पूरा गरेपछि कालिम्पोङको एउटा गाउँबाट उहाँलाई बोलाइयो। त्यहाँ प्रणामीहरूको बस्ती रहेछ। मानिसहरूको ठूलो जमघट हुन थाल्यो। तोरण, ध्वजा–पताका टाँगिए। जग्गामा ब्राह्मणद्वारा वैदिक शुभलग्नको घडी बज्यो। नयाँ वस्त्र लगाएर दुलाहा–दुलहीलाई जमघटमा बोलाइयो।
त्यसपछि मात्र युगलदासजीले आफूलाई विवाह गराउन लागिएको थाहा पाउनुभयो। लगनगाँठो बाँधियो। ‘कुँवर ग्रह उतार्नुपर्छ’ भनेर सबैले भनेपछि उहाँले स्वीकार गर्नुभयो र विवाह सम्पन्न भयो।
तर त्यसै दिन उहाँ विवाहघरबाट भागेर सिलगुढीतर्फ लाग्नुभयो भन्ने कुरा ‘श्री युगलदास महाराजजीको जीवनी २०४५’ मा उल्लेख गरिएको छ। त्यसपछि उहाँ उक्त गाउँमा फर्कनुभएन। जीवनभर ब्रह्मचर्य धारण गरी साधु जीवन बिताउनुभयो।
नेपालमा धर्मजागनीको यात्रा
धर्मप्रचारको सिलसिलामा सन्तजी नेपाल प्रवेश गर्नुभएको समयमा नेपालमा हुकुमी अर्थात् राणा शासन थियो। उहाँका गुरु परमहंस दयालदास महाराज श्रीकृष्ण प्रणामी धर्मको प्रचारमा सक्रिय हुनुहुन्थ्यो।
वि.सं. २००३ सालमा काठमाडौंमा पारायण पढिरहेको स्थानबाट राणा शासकहरूले तारतमसागर ग्रन्थ अपहरण गरी लगे। महाराजश्रीलाई कुटपिटसमेत गरी प्रणामी धर्मको घोर निन्दा गरियो। तर गुरुजीको दूरदर्शी तथा सहनशील कार्यबाट श्री ३ महाराज चन्द्रशमशेर प्रभावित भई उहाँलाई दरबारमा बोलाएर सेवासत्कार गर्नुभयो।
त्यसपछि श्रीकृष्ण प्रणामी धर्मप्रति आस्था राख्दै सनद सवाल लेखी श्रीकृष्ण प्रणामी धर्मको प्रचार गर्न नरोक्ने स्वीकृति दिइएको थियो।
उक्त सनद सवालको सक्कल प्रति श्रीकृष्ण प्रणामी मन्दिर बल्थुम, लमजुङका पुजारी काईला छोरा दयाराम अधिकारीको जिम्मामा रहेको उल्लेख छ।
यी घटनाहरू युगलदासजीले स्वयं देख्नुभएको थियो। त्यसैले गुरु दयालदासजीले सुरु गर्नुभएको कार्यलाई आफू अग्रसर भई अगाडि बढाउने प्रण गर्नुभयो र जीवनपर्यन्त त्यसमा लागिरहनुभयो।
नेपालमा स्थापित प्रणामी मन्दिरहरू
उक्त घटनाभन्दा पूर्व नै नेपालमा श्रीकृष्ण प्रणामी मन्दिर स्थापना भइसकेको देखिन्छ। पश्चिममा बल्थुम र देउगीर तथा पूर्वमा होक्से, थापागाउँ, नरदेवी र किलागलमा मन्दिर स्थापना भइसकेका थिए।
प्रणामी धर्म प्रचार गर्ने क्रममा उहाँ दैलेख, दुल्लु, पाल्पाको देउराली, कास्कीको मासबार, लमजुङको बेल्थुम, नुवाकोटको थापागाउँ, तीगाउँ, होक्से, दाप्चा फूलबारी, साँगाचोकलगायत अन्य कैयौँ स्थानमा पुग्नुभएको थियो।
गुरुसेवामा समर्पित युगलदासजी
गुरुभक्तिमा अत्यन्त आस्था राख्ने युगलदासजी आफ्ना परमपूज्य गुरु परमहंस दयालदासजी महाराजको धामगमनको समयमा पद्मावतीपुरी पुग्नुभयो। उहाँले गुरुको सेवा गर्दै एकछिन पनि छोड्नुभएन।
उहाँकै कथनअनुसार गुरुजीले दुईवटा कुरा भन्नुभएको थियो—
“एउटा त मेरो समाधि नगरिकन तिमीले मलाई नछोड्नु, अर्को काठमाडौंमा प्रणामी मन्दिर बनाई धर्मको जागरण यथावत् रूपमा गर्दै जानु।”
यसपछि वि.सं. २००४ सालमा गुरु महाराजजीको पद्मावतीपुरीमा धामगमन भयो। रतनदास महाराजजीको समाधि स्थलसँगै उहाँको समाधि स्थापना गरी युगलदासजी काठमाडौं फर्कनुभयो।
काठमाडौंमा श्रीकृष्ण प्रणामी मन्दिर स्थापना
राजधानी काठमाडौंमा श्रीकृष्ण प्रणामी मन्दिर स्थापना गरी निजानन्द सम्प्रदायको प्रचार गर्दै गुरुको वचन पूरा गर्ने अठोटका साथ युगलदासजी कहिले नरदेवी, कहिले बाँसबारी तथा कहिले चाबहिलमा सेवा–पूजा सञ्चालन गर्दै धर्मजागरणको कार्यमा लाग्नुभयो।
केही समयपछि मन्दिरका लागि जग्गा प्राप्त गर्ने अवस्था बन्यो। त्यसबेला डिल्लीबजार चारखालचोकमा महाराजजीकै शिष्य कालुराम मारवाडी कपडाको पसल गरी बस्नुभएको थियो। उहाँको अनुरोधमा युगलदासजी डिल्लीबजार आई बस्न थाल्नुभयो।
त्यही नजिकै राममन्दिरछेउ खाली जग्गा भएकाले मन्दिर बनाउन खोज्दा गुठियारहरूले विरोध गरे। धेरै झमेलाहरू झेल्नुपर्यो। अन्ततः गुठियार चेतबहादुर बस्नेतले रु. ७,००० मूल्य लिई गुठीको घरको हकभोग छोडी लिखित रूपमा पास गरिदिए।
सोही घरमा श्रीकृष्ण प्रणामी मन्दिर, डिल्लीबजार स्थापना भयो, जुन अहिलेसम्म सञ्चालनमा रहेको छ।
महाराज श्री युगलदासजीका प्रमुख योगदान
श्रीकृष्ण प्रणामी मन्दिर, डिल्लीबजार
साप्ताहिक पारायणमा चेला–चेलीबाट प्राप्त दान–दक्षिणा तथा घुमफिरमा जाँदा टीकाटालो र बिदाइका क्रममा प्राप्त रकम जम्मा गरी युगलदासजीले मन्दिर स्थापना गर्न रामगुठीको घर खरिद गर्नुभयो। त्यहाँ मन्दिर स्थापना भयो।
निजानन्द सम्प्रदायभित्रका बालबालिकाले त्यहाँबाट धार्मिक शिक्षा प्राप्त गरे। जिल्लातिरबाट आउने सुन्दर सखाहरूका लागि बस्ने आश्रम निर्माण गरियो। असहाय तथा बिरामीहरूले समेत त्यहाँ सहारा पाए।
नियमित रूपमा पाठ, पारायण, अध्ययन तथा अध्यापनको कार्यसमेत सञ्चालन हुँदै आएको छ।
श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको स्थापना
श्रीकृष्ण प्रणामी समाजलाई संगठित रूपमा नेतृत्व दिने तथा सरकारी मान्यता प्राप्त केन्द्रीय संस्थाको आवश्यकता महसुस भएको अवस्थामा देशभरका प्रणामीहरूको इच्छालाई प्रतिनिधित्व गर्दै हिन्दू धर्मको गरिमा अभिवृद्धि गर्न महाराजजीले विशेष योगदान दिनुभयो।
सरकारी मान्यता दिलाउने कार्य
वि.सं. २०२३ सालमा बागमती अञ्चलाधीशको कार्यालयबाट श्रीकृष्ण प्रणामी सेवा समितिलाई सरकारी मान्यता दिलाउने क्रममा उहाँले अगुवाइ गर्नुभयो। साथै उहाँ श्रीकृष्ण प्रणामी सेवा समितिको केन्द्रीय कार्यसमितिको संस्थापक अध्यक्ष पदमा रहनुभएको थियो।
निजानन्द आश्रम पुल्चोकको स्थापना
महाराज श्री युगलदासजीबाट वि.सं. २०३७ सालमा निजानन्द आश्रमको निर्माण गरिएको थियो। आश्रममा बालबालिका, वृद्धवृद्धा तथा असक्त महिला–पुरुषका लागि बसोबासको व्यवस्था मिलाइएको थियो।
सेवापूजाको स्थापना गरी नियमित रूपमा भजन–कीर्तन तथा तारतमसागर ग्रन्थको प्रशिक्षण दिँदै आध्यात्मिक शिक्षा प्राप्त गर्ने केन्द्रका रूपमा आश्रमको विकास गरिएको थियो।
नवतनपुरी धामका श्री १०८ महाराज धर्मदासजी, सुरतका श्री १०८ ठाकुरदासजी तथा कालिम्पोङ निवासी श्री १०८ मंगलदासजी महाराजको उपस्थितिमा वि.सं. २०३७ सालमा तत्कालीन राष्ट्रिय पञ्चायतका अध्यक्ष श्री लोकेन्द्रबहादुर चन्दद्वारा आश्रमको उद्घाटन गरिएको थियो।
महाराज धर्मदासजीले आजीवन सोही आश्रमको संरक्षकत्व ग्रहण गरी त्यहाँ बसोबास गर्नुभएको थियो। हाल त्यहाँ श्री कमलदासजीलाई गादीपतिको रूपमा राखी महन्तको पदवी दिइएको छ।
समाजहितमा गरिएको आर्थिक योगदान
किताब, फोटो बिक्री तथा दान–दक्षिणाबाट प्राप्त रकमलाई महाराज श्री युगलदासजीले समाजहितमा खर्च गर्नुभएको देखिन्छ।
उहाँले गर्नुभएको उल्लेखित आर्थिक योगदान यसप्रकार छ—
डिल्लीबजार मन्दिर बनाउन घर खरिद : रु. ७,०००/–
निजानन्द आश्रममा आफू बसेको घर निर्माण : रु. ७,६००/–
मन्दिर निर्माणतर्फ : रु. ५२,३००/१०
गोल मन्दिर र भर्याङ निर्माण : रु. ५,१४२/–
डिल्लीबजार मन्दिर जीर्णोद्धार : रु. ५,८००/–
मोतीटार (ईमाडोल) मन्दिर निर्माणमा सहयोग : रु. ४,५००/–
मोतीटार (ईमाडोल) मन्दिर उद्घाटनमा सहयोग : रु. ३,५००/–
छपाईमा : रु. ६,६००/–
धामगमन भएपछि आफूले लगाएको इँटाको खल्तीबाट : रु. ३,७०४/–
जम्मा रकम : रु. १,६५,२५१/१०
भक्तजनसँगको आत्मीय सम्बन्ध
महाराज युगलदासजीलाई भेट्न गाउँ–गाउँबाट प्रणामी भक्तहरू आउने गर्दथे। उहाँले श्रीमुखवाणीका अमूल्य चौपाई सुनाउँदा भक्तिरसको प्रवाह हुने गर्दथ्यो।
कसैले केही ल्याएर दिएमा उहाँले ठूलो प्रेमका साथ स्वीकार गर्नुहुन्थ्यो। आफूसँग भएको कुनै न कुनै वस्तु भक्तजनलाई दिएर पठाउनु उहाँको स्वभाव थियो।
गुरुजी सधैँ व्यस्त देखिनुहुन्थ्यो। किताबका पानाहरू मिलाउने, त्यसमा माड लगाएर टाँस्ने तथा परमधामका नक्साहरू (चरनी) फिजाएर हेर्ने उहाँका नियमित कार्यमध्ये पर्दथे।
उहाँका प्रकाशित कृतिहरूमा ‘गुरु गौरव’, ‘निष्कलंक दर्पण’ तथा ‘अष्ट प्रहरको सेवा पूजा’ रहेका छन्।
निजानन्द आश्रममा रहँदाको घटना
निजानन्द आश्रममा रहँदा वि.सं. २०४२ सालमा साँझको सेवापूजा सकेर आफ्नो कोठामा जाने क्रममा उहाँ अचानक लड्नुभयो। त्यस क्रममा दायाँ तिघ्राको हाड भाँचिएपछि उहाँले पाँच महिनासम्म एउटै थलोमा बिताउनुपर्यो।
असक्त हुँदै जानुभएकाले सुब्बा गजेन्द्रबहादुरको अनुरोधमा पुल्चोक (दसमल) स्थित इन्द्रबहादुर श्रेष्ठको घर–मन्दिरमा गई बस्नुभयो र भक्तजनहरूको सेवा ग्रहण गर्नुभयो।
त्यहाँ बस्दा पनि गुरुजीको सामुन्ने सधैँ भक्तजनहरूको घुइँचो लागिरहन्थ्यो।
धामगमन
श्रीकृष्णका बाललीला, नाटक, रास तथा रामलीला सिकाउने, धार्मिक उपदेश दिने तथा कथा–प्रवचन सुनाउँदै जीवन बिताउनुभएका त्यागी सन्त श्री युगलदासजी महाराजले वि.सं. २०४४ साल भाद्र १९ गते दशमीको राति दुई बजे यस संसारबाट भौतिक शरीर त्याग गर्नुभयो।
ललितपुर जिल्लाको उत्तरप्रवाह भनिने बागमती नदीको किनार, शंखमूलमा उहाँको समाधि गरिएको हो।








