काभ्रेपलाञ्चोक, भाद्र २० / श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत रहेको प्रारम्भिक समिति बनेपाको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
“रक्तदान जीवनदान हो, जीवनदान मानवदान हो” भन्ने मानवीय भावनालाई आत्मसात् गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा ३६ जना रक्तदाताले उत्साहपूर्वक रक्तदान गरेका थिए।
श्रीकृष्ण जन्माष्टमीको धार्मिक तथा आध्यात्मिक महत्त्वलाई मानव सेवासँग जोड्दै आयोजना गरिएको यस कार्यक्रमले भक्तिसँगै सेवा र आस्थासँगै मानवताको भावनालाई उजागर गरेको छ। आवश्यक परेको समयमा एक थोपा रगतले पनि कसैको अमूल्य जीवन बचाउन सक्ने भएकाले रक्तदानलाई महान् सेवाका रूपमा लिइएको आयोजकले जनाएको छ।
कार्यक्रमले समाजमा रक्तदानप्रति सकारात्मक चेतना अभिवृद्धि गर्नुका साथै युवाहरूलाई सामाजिक सेवामा सक्रिय सहभागी हुन प्रेरित गरेको छ। श्रीराजश्यामाजीको मेहेर र कृपाले मानव सेवाका यस्ता पुण्य कार्यहरू निरन्तर अघि बढिरहून् भन्ने शुभकामनासहित कार्यक्रम सम्पन्न गरिएको थियो।






