आज असार शुक्ल पुर्णिमा अर्थात गुरु पूर्णिमाको पावन अवसरमा आध्यात्मिक चिन्तन, वैदिक शास्त्र, ज्योतिष तथा धर्मदर्शनका गहन अध्येता एवं प्रेरणादायी वक्ता ज्योतिषीचार्य श्री ध्रुवराज शास्त्रीसँग सद्गुरुको महिमा, आत्मजागरण, श्रीकृष्ण प्रणामी धर्मको दर्शन, युवापुस्ताको आध्यात्मिक दायित्व तथा विश्वबन्धुत्वको सन्देशका विविध आयामबारे त्रिकालदर्शन डट कमका लागि पत्रकार सन्तोष बजगाईले गरेको विशेष अन्तर्वार्ता।
१. गुरु पूर्णिमाको वास्तविक आध्यात्मिक महत्व के हो? श्रीकृष्ण प्रणामी धर्ममा यसलाई कसरी व्याख्या गर्छ?
गुरु पूर्णिमा गुरु र शिष्यकाे सम्बन्ध स्थापित गर्ने पावन दिन हाे । तसर्थ
गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वरः।
गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः॥”
हे गुरु हजुर नै व्रम्ह , विष्णु, महेश्वर अनि देवता पनि हजुर नै हाे यतिमात्र नभएर हजुर त साक्षात परब्रम्ह हाे हजुरकाे चरणमा वार वार वन्दना गर्छु भनेर
श्रीकृष्ण प्रणामी धर्ममा सद्गुरुलाई परमधामकाे मार्ग देखाउने, आत्मा र परमात्माकाे सम्बन्ध के हाे ? चिनाउने, दिव्य मार्गदर्शककाे रूपमा मानिन्छ ।
२. श्रीकृष्ण प्रणामी धर्ममा ‘सद्गुरु’ को स्थान किन सर्वोच्च मानिन्छ? सद्गुरु र सामान्य गुरुबीच के भिन्नता छ?
“तुम सदगुरू दीपक भए कियाे जाे आँप समान” अर्थात हे सदगुरू हजुर नै मेराे जीवनलाई उज्यालो मार्गमा प्रस्थान गराउने उच्च अधिकारी हाे । हजुर जस्तो दीयाे मेराे जीवनमा अरू काे हुन सक्छ । हजुरकाे पावन मार्दगर्शनले मेराे जीवन सफल भएकाे छ भनेर सद्गुरुलाई सर्वउत्कृष्ट स्थान दिएकाे छ । आत्मा र परमात्माको वास्तविक सम्बन्ध बुझाई आत्मा कल्याणकाे मार्ग देखाउने भएकाले सद्गुरुको स्थान सर्वोच्च मानिन्छ ।
“गुरु कञ्चन गुरु पारस गुरु चन्दन परमाण “
हे सदगुरू हजुर सुनमा पनि कञ्चन सुन हाे रत्नहरूकाे उपमा हजुरलाई दिनुपरेमा हजुर रत्नहरूमा पारसमणी हाे । चन्दनहरूमा हजुर श्रीखण्ड हाे हजुरकाे व्याख्या म कसरी गर्न सक्छु र ? गुरु त मानव जीवनमा धेरै हुन्छन गुरूले असल शिक्षा प्रदान गर्ने, मानव जीवन सफल बनाउन मार्गदर्शन दिने असल पथपर्दशक हाे । तर अध्यात्मिक दृष्टिकोणले गुरु शब्दकाे अर्थ अन्धकारबाट उज्यालो मार्गमा लैजाने परमपद हाे । भने सदगुरू सुर्यकाे पनि सुर्य हाे जाे मनुष्य जीवनमा पाउन, भेट्टाउन मुस्किल हुन्छ यदि वास्तविक सदगुरू जीवनमा मिल्याे भने मानव जीवनकाे वेडा पार हुन्छ । सदगुरूकाे सम्बन्ध परमात्मीय मार्गमा मात्र हुन्छ सदगुरू मिल्नु नै परमात्मा मिलनकाे अतभुत क्षण हाे ।
३. तारतम सागर अनुसार गुरुको महिमा र आवश्यकता कसरी वर्णन गरिएको छ?
तारतम सागरमा सद्गुरुलाई परमधाम र परमात्मा प्राप्तिका लागि उच्च स्राेत नै सदगुरू हाे भनेर ज्ञानको स्रोत र आत्मजागरणको आधार मानिएको छ। सद्गुरुको कृपाविना परम सत्यको पूर्ण अनुभूति हुन कठिन हुन्छ । अात्माकाे घर परमधाम, आत्माका मालिक परमात्मा हाे । शरिरकाे सम्बन्ध संसारिक नाता सम्बन्धमा सीमित हुन्छ भने आत्माकाे सम्बन्ध परमात्मा सँग हुन्छ त्याे कुरा सदगुरूकाे ज्ञानबाट मात्र प्राप्त हुने हुदाँ सदगुरूकाे धेरै महत्त्व छ ।
४. आजका युवापुस्ताले आध्यात्मिक मार्गतर्फ आकर्षित हुन किन कठिनाइ भइरहेको छ? उनीहरूलाई तपाईंको सन्देश के छ?
आजका युवाहरूमा भौतिक सुखकाे धेरै आकर्षण बढेकाे छ । विलासिताका साधन उपभाेग गर्नका लागि उ सदैव व्यस्त छ । पारिवारिक माेजमस्ति र धन कमाउने हाेडवाजीका कारण जीवनशैली भाैतिकतामा र प्रविधिको अत्याधिक प्रयोगका कारण युवाहरू आध्यात्मिकताबाट टाढा भइरहेका छन् । यस्ताे गम्भीर विषयमा मेराे सन्देश के छ भने युवाशक्तिहरूले भाैतिक सुखकाे खाेज आधुनिक शिक्षा र प्रविधिसँगै अनुशासन, सेवा , साधना, आत्मज्ञान, नैतिकता र ध्यान साधनालाई पनि जीवनको हिस्सा बनाउनुहोस् । तपाइकाे जीवन सफल हुनेछ।
५. गुरुको सान्निध्यले मानिसको जीवनमा आउने सबैभन्दा ठूलो परिवर्तन के हुन सक्छ?
सद्गुरुको सान्निध्यले जीवनमा सकारात्मक सोच, आत्मविश्वास, शान्ति, विवेक र प्रेमको विकास हुन्छ। मानिस सत्य, सेवा र सदाचारको मार्गमा अघि बढ्छ ।
६. श्रीकृष्ण प्रणामी धर्मले जात, धर्म, भाषा र सम्प्रदायभन्दा माथि उठेर दिने विश्वबन्धुत्वको सन्देश आजको समाजका लागि कति सान्दर्भिक छ?
आजको विभाजित समाजमा यो सन्देश अत्यन्तै सान्दर्भिक छ। किनकि सबै मानव एकै परमात्माका सन्तान हुन् भन्ने भावना भक्तकाे हृदयमा हुनुपर्छ । भक्तले सबैलाइ समानता, सहिष्णुता प्रेम, दया, करूणा र स्नेह गर्दै विश्वशान्तिको कामना सदैव गर्नुपर्नेछ ।
७. धार्मिक ज्ञान केवल सुन्नु पर्याप्त हुन्छ कि त्यसलाई व्यवहारमा उतार्नु पनि उत्तिकै आवश्यक छ?
कुनैपनि मानवले धार्मिक ज्ञान सुन्नु मात्र पर्याप्त हुँदैन। त्यसलाई व्यवहारमा उतारेर सत्य, प्रेम, करुणा, सेवा र नैतिक जीवन अपनाउँदा मात्र ज्ञान सार्थक हुन्छ ।
८. आजको भौतिकवादी युगमा आध्यात्मिकता र आधुनिक जीवनबीच कसरी सन्तुलन कायम गर्न सकिन्छ?
आफ्नो कर्तव्य इमानदारीपूर्वक पूरा गर्दै दैनिक केही समय प्रार्थना, ध्यान, सत्सङ्ग र आत्मचिन्तनमा लगायाे भने आधुनिकता र आध्यात्मिकताबीच राम्रो सन्तुलन कायम गर्न सकिन्छ ।
९. गुरुको वास्तविक सेवाको अर्थ के हो? के केवल पूजा–अर्चना नै गुरुसेवा हो, वा जीवनशैलीमा पनि यसको अभ्यास आवश्यक छ ?
गुरुसेवा केवल पूजा–अर्चनामा मात्र सीमित हुँदैन। गुरूकाे सेवा त्यत्तिवेला हुन्छ जुन वेला हामीले गुरूका आदर्शलाई जीवनमा उतार्नेछाै । सत्य बोल्नेछाै सत्यकाे मार्ग अपनाउने छाै प्रेम सेवा गर्नेछाै , नम्रता र सदाचार व्यवहार अपनाउने छाै अनि त्यो नै वास्तविक गुरुसेवा हो ।
१०. परिवारमा आध्यात्मिक संस्कार विकास गर्न अभिभावकले के–कस्ता कुरामा विशेष ध्यान दिनुपर्छ?
घरमा धर्ममय वातावरण वनाउनुपर्छ । आरती पुजा ध्यान जाप आदिमा संयुक्त प्रार्थना गर्ने , संस्कृत शिक्षा, नैतिक शिक्षा, सत्सङ्ग, धार्मिक ग्रन्थ अध्ययन गर्ने जस्ता आफ्नै व्यवहारबाट सकारात्मक उदाहरण प्रस्तुत गर्न आवश्यक छ।
११. श्रीकृष्ण प्रणामी धर्मका मूल शिक्षा र दर्शनलाई छोटकरीमा आम नागरिकले कसरी बुझ्न सक्छन्?
यस धर्मको मूल शिक्षा प्रेम, सत्य, मानव एकता, आत्मा परमात्मा सगँ कुनवेला मिलन हाेला भन्ने प्रतिक्षा सदाचार द्वारा गरिने परमात्माप्रतिको भक्ति हो । यसले सबै धर्मको सम्मान गर्दै विश्वबन्धुत्वको सन्देश दिन्छ ।
१२. गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण मानव समाजका लागि तपाईंको विशेष सन्देश के छ?
सबैले सद्गुरुको मार्गदर्शनमा लागेर सत्य, प्रेम, सेवा र मानवताको बाटो अपनाऔँ। द्वेष र विभाजन त्यागेर विश्वशान्ति, सद्भाव र आत्मिक उन्नतिको दिशामा अघि बढौँ।
१३. आगामी पुस्तालाई धर्म, नैतिकता र मानवताको मार्गमा अघि बढाउन गुरु, अभिभावक र समाजले संयुक्त रूपमा कस्तो भूमिका खेल्नुपर्छ?
गुरुले आगामी पुस्तालाई सही ज्ञान दिनुपर्छ। अनि अभिभावकले घरमा असल संस्कार दिनुपर्छ र समाजले नैतिक तथा सकारात्मक वातावरण सिर्जना गर्नुपर्छ। यी तीन पक्षको संयुक्त प्रयासबाट नै जिम्मेवार, नैतिक र मानवताप्रेमी पुस्ता निर्माण गर्न सकिन्छ।






