नेपाली कांग्रेस एउटा पार्टीको नाम मात्र होइन, यो त नेपालको प्रजातान्त्रिक आन्दोलनको जीवित इतिहास हो।
२०८२ को निर्वाचनमा कांग्रेसले प्राप्त गरेको नतिजाले नेतृत्व पुरातन र बूढो भयो, कांग्रेसका मजबुत जरा बाँकी छन् र यसले नवीन पाइला चाल्नुपर्छ भन्ने सन्देश दिएको थियो। पार्टीका शीर्षस्थ नेताको घमण्ड, अहंकार र उदाउँदो तेस्रो पुस्ताप्रति नजरअन्दाजका कारण कांग्रेस अलमलिएको थियो। पार्टीको नेतृत्वका हाँगा मक्किए, भाँचिए, पात झरे, तर पालुवा पलाउनु जरुरी छ भन्ने भाष्य स्थापित गरेर कांग्रेस नेपाली माटो र जनताको मनमा आशा र विश्वाससहित गाडिएर बस्यो।
भारतमा नेपालको राणाशासन अन्त्यका लागि स्थापित दुई कांग्रेस—नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस—को एकीकरणबाट वि.सं. २००६ सालमा नेपाली कांग्रेस पार्टी बन्यो। त्यो दिनदेखि आजसम्म यो पार्टीले धेरै मौसमी उतारचढाव र घामपानी देखेको छ र त्यसलाई हाँक्ने कप्तानहरूले आ–आफ्नो समयमा फरक–फरक छाप छोडेका छन्।
टंकप्रसाद आचार्यको सभापतित्वमा राणाशासनको अँध्यारोमा समेत प्रजातन्त्रको दियो बाल्ने काम भयो। त्यसपछि नेतृत्वमा आएका बीपी कोइराला त कांग्रेसका आत्मा नै बने। उनले प्रजातान्त्रिक समाजवादको विचार उदय गराए। २०१५ सालको चुनावमा दुईतिहाइ ल्याएर देशलाई प्रजातन्त्र के हो भनेर देखाए। तर, २०१७ सालमा राजा महेन्द्रबाट गरिएको कू पछि उनको लामो जीवन जेल र निर्वासनमै बित्यो। उनकै समयमा सुवर्णशमशेर राणा कार्यवाहक सभापति बने, जो राणा वंशका भएर पनि प्रजातन्त्रका लागि आफ्नो सम्पत्ति र जीवन नै दाउमा लगाउने अद्भुत पात्र थिए।
बीपीपछि सन्त नेता कृष्णप्रसाद भट्टराईले पार्टीको डोर सम्हाले। किसुनजीको आफूले नखाने, इमानदारितामा अरूसामु नझुक्ने र अरूलाई पनि नखुवाई बस्ने आदर्श आज पनि निष्ठाको हिस्सा बनेको छ। उनी २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहका विश्वासपात्र बने र उहाँको त्यागसँगै दुई पटक प्रधानमन्त्री पनि भए।
त्यसपछि लामो समयसम्म गिरिजाप्रसाद कोइरालाले कांग्रेसलाई उतारचढावपूर्ण बनाए र सत्ताको स्वाद पनि चखाए। राजासँग सधैँ नजिक रहेका उनी माओवादी द्वन्द्व शिखरमा पुगेका बेला माओवादीसँग मिलेर द्वन्द्व व्यवस्थापन गर्दै नेपालमा चलिरहेको २४० वर्षे राजतन्त्रको अन्त्य गरी नेपाललाई बहुभाषिक, बहुसांस्कृतिक, धर्मनिरपेक्ष र गणतान्त्रिक मुलुक बनाउन सफल भए। चार पटक प्रधानमन्त्री बनेका उनले नै जंगलबाट भौतिक र मानवीय क्षतिसहित हिंसामार्फत सत्ता कब्जा गर्न उद्यत माओवादीलाई गणतन्त्रसम्म ल्याउने निर्णायक वार्ता गरे।
गिरिजाप्रसाद कोइरालापछि सुशील कोइराला कांग्रेसको नेतृत्वमा आए, जसको सादा जीवन र त्यागले संविधानसभा निर्वाचनमार्फत वि.सं. २०७२ सालमा संविधान जारी गराउने ऐतिहासिक काम सम्भव भयो।
२०७२ सालदेखि २०८२ सालसम्म शेरबहादुर देउवा पार्टीको दोस्रो विशेष महाधिवेशन सम्पन्न भई निर्वाचन आयोगले अंकुश नलगाएसम्म सभापति रहे। उनले नै २०५९ सालमा गिरिजाप्रसाद कोइरालासँग टकराव लिई पार्टी फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाएका थिए, जुन पछि २०६४ सालमा फेरि एक भयो। पाँच पटक प्रधानमन्त्री बनी रेकर्ड कायम गरेका देउवाले जेन्जी आन्दोलनको मारसमेत बेहोरे।
कांग्रेसमा नजिकका केही व्यक्तिलाई काखी च्याप्दा र उनीहरूको सल्लाहमा हिँड्दा पार्टीको बागडोर नचाहँदा–नचाहँदै गगन थापाको हातमा पुग्यो। वैधानिकताका कुरा उठाउँदै सर्वोच्च अदालतको ढोका चहारेका उनी गगन नेतृत्वको समितिलाई अवैधानिक भन्दै अझै आफूलाई नै वैधानिक सभापति मानिरहेका छन्।
दोस्रो पुस्ताका भनिएका रामचन्द्र पौडेल, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र निधि, शेखर कोइराला र कृष्ण सिटौलाजस्ता नेताहरू किन विलीन भए त? रामचन्द्र पौडेल राष्ट्रपति बने पनि बाँकी नेताहरू बीचमै हराउन बाध्य भए। जेल बसेका, आन्दोलनमा खारिएका, प्रजातन्त्रका लागि लडेका पात्रहरू विलीन हुनुको मुख्य कारण विचारको गुट हुनुपर्नेमा व्यक्तिको गुट बनाउनु हो। कांग्रेसमा ‘तँ मेरो मान्छे, म तेरो मान्छे’ भन्ने संस्कार हाबी भयो। ‘एकताको लौरो अनेकताको भौँरो’ भन्ने उखानलाई उनीहरूले उल्टो बनाए। अनेकताको भौँरोमा लौरो आफैँ भाँचियो।
उनीहरूले आफूलाई भावी सभापतिका रूपमा त देखे, तर त्यसका लागि कार्यकर्ताको मन जित्नुभन्दा सभापति र भाउजूको कृपा लिनु ठूलो ठाने। उनीहरू कहिले एक गुटमा त कहिले अर्को गुटमा बाँडिए र कहिल्यै एकजुट हुन सकेनन्।
अर्को ठूलो कमजोरी भनेको आफूभन्दा पछाडि आउने तेस्रो पुस्तालाई उनीहरूले उत्तराधिकारी होइन, प्रतिस्पर्धी ठाने। आफू पनि खान्नँ, अरूलाई पनि खान दिन्नँ भन्ने प्रवृत्तिले गर्दा पुस्तान्तरण रोकियो। भाषणमा प्रजातन्त्र र व्यवहारमा व्यक्तिवाद बोकेपछि कार्यकर्ताले पनि पत्याउन छोडे। त्यसैले दोस्रो पुस्ताको विलीन हुनु व्यक्तिको हार होइन, एउटा गलत शैलीको परिणाम हो।
अबको कांग्रेसको भविष्य के त भन्ने सवालमा सबैको आँखाले पन्ध्रौँ महाधिवेशनबाट गगन थापाको नेतृत्वमा रहेको तेस्रो पुस्तालाई रोजेको छ। कांग्रेसले साँच्चै नयाँ बाटो हिँड्ने हो भने अब बूढो रुखको छहारीमा मात्र बसेर हुँदैन, नयाँ बिरुवा पनि रोप्नुपर्छ। त्यसका लागि सबैभन्दा पहिला कांग्रेस आफ्नो विचारमा फर्किनुपर्छ। बीपीको प्रजातान्त्रिक समाजवादलाई फेसबुकको स्टाटसबाट निकालेर व्यवहारमा ल्याउनुपर्छ। कांग्रेस धनाढ्यहरूको क्लब होइन, विपन्नको आवाज बन्नुपर्छ। अनि गुटको राजनीति अन्त्य गरेर योग्यताका आधारमा अवसर दिने प्रणालीको सुरुवात गर्नुपर्छ। भनसुनका आधारमा होइन, काम गर्नेले पुरस्कार पाउने प्रणाली बसाउनुपर्छ। आजको कार्यकर्ता गाउँको चौतारीमा मात्र होइन, ट्विटर र टिकटकमा पनि छ। त्यसैले संगठनलाई डिजिटल बनाउन जरुरी छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा त आत्मालोचना हो। हामीले कहाँ गल्ती गर्यौँ, विगतमा कहाँ गल्ती भयो, भ्रष्टाचार किन मौलायो, जनजीविकाको सवालमा हामी कहाँ चुक्यौँ भनेर निर्मम समीक्षा गर्नुपर्छ। आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रा देख्ने प्रवृत्ति त्याग्नुपर्छ। र अन्त्यमा, व्यक्ति होइन, एजेन्डाको राजनीति गर्नुपर्छ। शिक्षा, स्वास्थ्य र रोजगारीमा कांग्रेसको स्पष्ट खाका जनताले देख्न पाउनुपर्छ।
नेपाली कांग्रेस रुख हो, व्यक्ति पात हुन्। पात झर्छन्, रुख रहन्छ। दोस्रो पुस्ता झरेर रुख मर्दैन, तर अब रुखले नयाँ पालुवा नफेरे भने ‘जरा भएर के गर्नु, फल लागेन भने’ भन्ने दिन आउनेछ।
गगन थापाको नेतृत्व भनेको पुस्ता परिवर्तन मात्र होइन, प्रवृत्ति परिवर्तन पनि हुनुपर्छ। यदि उनले बीपीको सपना, गणेशमानको त्याग, किसुनजीको निष्ठा र गिरिजाको आँटलाई एकै ठाउँमा ल्याउन सके भने कांग्रेस फेरि जनताको पहिलो रोजाइ बन्न सक्छ। होइन भने इतिहासले भन्नेछ—मौका आएको थियो, तर चुकाइयो।
पन्ध्रौँ महाधिवेशन : एउटा युगको अन्त्य र अर्को युगको प्रारम्भ
नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन कुनै नियमित अधिवेशन मात्र होइन, यो त एउटा युगको अन्त्य र अर्को युगको प्रारम्भको सन्धि हो। बाहिरबाट हेर्दा यो नेतृत्व छनोटको थलो जस्तो देखिन्छ, तर भित्रबाट हेर्दा यो पुस्तान्तरणको प्रयोगशाला हो। इतिहासले हरेक पार्टीलाई एकपटक आफैँसँग प्रश्न सोध्ने मौका दिन्छ—तिमी पुरानै लयमा हिँड्छौ कि नयाँ बाटो खोज्छौ? कांग्रेसका लागि त्यो प्रश्न नै पन्ध्रौँ महाधिवेशन हो।
यस महाधिवेशनलाई धेरैले ‘बाइपास आयोजना’का रूपमा पनि हेरेका छन्। बाइपास भनेको मूल सडक जाम हुँदा वैकल्पिक बाटो खोज्नु हो। आज कांग्रेसको मूल सडक जाम भएको छ। एउटै पुस्ता, एउटै शैली र एउटै गुटको जामले गर्दा पार्टीको गाडी अगाडि बढ्न सकेको छैन। त्यसैले बाइपास आवश्यक भएको हो। यो बाइपास भनेको विधानमा केही लचकता ल्याएर, उमेर हदबन्दीको बहस चलाएर, प्रत्यक्ष निर्वाचित प्रणालीमा जोड दिएर भए पनि नयाँ पुस्तालाई मूल सडकमै ल्याउने प्रयास हो। यो कुनै व्यक्तिलाई छल्ने षड्यन्त्र होइन, यो त पार्टीलाई जोगाउने प्राणवायु हो।
पुस्तान्तरण भन्ने शब्द सुन्दा सजिलो लाग्छ, तर यसको पीडा भने गहिरो छ। बूढो रुखले नयाँ हाँगालाई ठाउँ दिनुपर्दा आफ्नै छहारी घट्छ जस्तो लाग्छ। तर रुखले बुझ्नुपर्छ, यदि नयाँ पालुवा पलाएन भने रुख आफैँ सुकेर जान्छ। दोस्रो पुस्ताले आफ्नो समयमा आन्दोलनको आँधी बेहोर्यो, जेलको चिसो भुइँमा सुत्यो, त्यसको सम्मान छ। तर अब उनीहरूले अभिभावकको भूमिका लिनुपर्छ, प्रतिस्पर्धीको होइन। पुस्तान्तरण भनेको बूढालाई धपाउनु होइन, युवालाई अघि सार्नु हो। पाकाले सिकाउने र युवाले हिँडाउने सहयात्राको नाम नै पुस्तान्तरण हो।
पन्ध्रौँ महाधिवेशनले यदि यो बाइपासलाई सहजै पार गर्यो भने कांग्रेसमा एउटा नयाँ कथा सुरु हुनेछ। त्यो कथा गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलजस्ता तेस्रो पुस्ताको मात्र हुने छैन, त्यो कथा गाउँमा बसेर खाली खुट्टा हिँड्ने कार्यकर्ताको पनि हुनेछ। नत्र भने कांग्रेस फेरि उही पुरानो घडीजस्तै हुनेछ, जसको सुई चलिरहन्छ, तर समय भने देखाउँदैन। त्यसैले यो महाधिवेशनपछि जित कसको हुन्छ भन्नेभन्दा पनि कांग्रेसले आफूलाई जित्छ कि हार्छ भन्ने महत्त्वपूर्ण हुनेछ।
बाइपासको बाटो कठिन छ, धुलो छ, तर यही बाटोबाट मात्र कांग्रेसलाई फेरि जनताको मनको मूल सडकमा पुर्याउन सकिन्छ भन्ने आँट गगनले गर्नुपर्छ। परिवर्तित र समृद्ध नेपाली कांग्रेस बन्न सकोस्। शुभकामना!






