ललितपुर / ललितपुर जिल्लाको दक्षिणी भेग बागमती गाउँपालिका–३ भट्टेडाँडामा अवस्थित श्री सात कन्या आधारभूत विद्यालयका १०२ जना विद्यार्थी न्यानो ट्र्याकसुटको अभावमा चिसो मौसममा काँप्दै विद्यालय जान बाध्य भएका छन्। बढ्दो जाडोका कारण न्यानो कपडाको कमीले विद्यार्थीहरूको स्वास्थ्य, मनोबल र नियमित पठनपाठनमा गम्भीर असर पर्न थालेको छ।
यस संवेदनशील अवस्थालाई मध्यनजर गर्दै श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, बागमती प्रदेश अन्तर्गत जिल्ला कार्यसमिति काठमाडौंको समन्वयमा रहेको भैमाल प्रारम्भिक समिति, नवतनधाम प्रारम्भिक समिति तथा राधाकृष्ण कपन प्रारम्भिक समितिको संयुक्त पहलमा ‘न्यानो माया’ नामक मानवीय तथा सेवामूलक कार्यक्रम आयोजना गर्न लागिएको छ।
कार्यक्रममार्फत जाडोबाट पीडित विद्यार्थीहरूलाई न्यानो ट्र्याकसुट उपलब्ध गराउने उद्देश्य राखिएको आयोजकले जनाएका छन्। शिक्षा र बालअधिकारको संरक्षणका साथै सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सञ्चालन हुन लागेको यस अभियानमा सबै सरोकारवाला, दाता र सहयोगी हातहरूलाई सहभागिताका लागि आग्रह गरिएको छ।
यस सन्दर्भमा आयोजकहरूले सेवा र करुणाको भाव झल्काउने शास्त्रीय सन्देश स्मरण गराएका छन्
“परोपकाराय फलन्ति वृक्षाः,
परोपकाराय वहन्ति नद्यः ।
परोपकाराय दुहन्ति गावः,
परोपकारार्थमिदं शरीरम् ॥”
अर्थात् :-
वृक्षहरू अरूका लागि फल दिन्छन्, नदीहरू अरूका लागि बग्छन्, गाईहरू अरूका लागि दूध दिन्छन्, र यो शरीर पनि परोपकारका लागि नै हो।
सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूले कमेन्टमा उल्लेख गरिएको QR कोडमार्फत आफ्नो इच्छाअनुसार रकम सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ। QR मार्फत रकम पठाउँदा Remarks मा आफ्नो नाम उल्लेख गरी Screenshot पठाउन आयोजकले अनुरोध गरेका छन्।
आयोजक संस्थाहरूले प्राप्त हुने सहयोग, सद्भाव र विश्वासप्रति हार्दिक आभार व्यक्त गर्दै, ‘न्यानो माया’ अभियानले जाडोमा काँपिरहेका विद्यार्थीहरूको जीवनमा न्यानोपन, आशा र आत्मविश्वास भर्ने विश्वास व्यक्त गरेका छन्।
काभ्रेपलान्चोक / बेथानचोक गाउँपालिका, काभ्रेपलान्चोकका Gen Z अभियन्ता ऋषि थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेटवार्ता गर्दै देश निर्माण अभियानमा संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भेटका क्रममा युवाको नेतृत्व, सुशासन, स्थानीय तहको सशक्तिकरण तथा नवप्रवर्तनमार्फत विकासको गति तीव्र बनाउने विषयमा गहन छलफल भएको थियो। अभियन्ता थापाले ग्रामीण क्षेत्रदेखि राजधानीसम्म युवालाई एकीकृत गर्दै सकारात्मक परिवर्तनको अभियानलाई संस्थागत रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए।
सो अवसरमा थापाले Gen Z आन्दोलनका क्रममा आफूले करिब २० जना घाइतेको उद्दार गरेको अनुभव पनि साझा गरेका थिए। उनले विशेषगरी भदौ २३ गतेको आन्दोलन अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण समय रहेको उल्लेख गर्दै, उक्त आन्दोलनका बेला जनताले भगवानको नामभन्दा बढी मेयर बालेन शाहको नाम लिएको दृश्यले युवामा परिवर्तनप्रतिको विश्वास र आशा प्रष्ट देखिएको बताए।
मेयर बालेन शाहले युवाको सक्रिय सहभागिता बिना दिगो विकास सम्भव नहुने धारणा व्यक्त गर्दै देश निर्माणका अभियानमा Gen Z को ऊर्जा, नवीन सोच र नेतृत्वलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए। उनले युवाहरूले सडकदेखि नीति निर्माणसम्म निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिए।
भेटवार्तापछि दुवै पक्षले पारदर्शिता, उत्तरदायित्व र नागरिक सहभागितामा आधारित समृद्ध नेपाल निर्माणको अभियानलाई सहकार्यका साथ निरन्तर अघि बढाउने एक्यबद्धता व्यक्त गरेका छन्।
काभ्रेपलान्चोक जिल्ला को दक्षिणी भेग बेथानचोक गाउँपालिका वडा नम्बर ३ स्थित श्री बेथानचोक नारायण आधारभूत विद्यालयले ६५ औँ वार्षिक जन्मोत्सव २०८२ साल पौष ९ गते बुधबार उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ। शिक्षा, सम्मान र सामुदायिक सहभागितालाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा स्थानीय सरकार, शिक्षाविद्, समाजसेवी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भगवान अधिकारी ले गुणस्तरीय शिक्षाका लागि गाउँपालिका निरन्तर प्रतिबद्ध रहेको बताउँदै विद्यालयको शैक्षिक स्तर उकास्न आवश्यक नीति, स्रोत र सहकार्यमा कुनै कमी हुन नदिइने स्पष्ट गर्नुभयो। उहाँले चुनौतीपूर्ण परिस्थितिमा पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वडा नं. ३ का वडा अध्यक्ष कुबेर ढकाल ले गुणस्तरीय र व्यवहारिक शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्दै विद्यालयलाई समुदायको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। विशेष अतिथि समाजसेवी आरजु केसी ले शिक्षा नै समाज रूपान्तरणको आधार भएको बताउनुभयो।
कार्यक्रममा पार्वती बहुमुखी क्याम्पसका प्रमुख राजेश तिमल्सिना र सह–प्रधानाध्यापक पदम नारायण तिमल्सिना ले शिक्षाको गुणस्तर र निरन्तरतामाथि धारणा राख्नुभयो। शिक्षण पेशाको प्रारम्भदेखि नै योगदान पुर्याउनु भएका पूर्व शिक्षक ठुलोबाबु तिमल्सिना ले विद्यालयको ऐतिहासिक पृष्ठभूमिसहित शिक्षाको विकासक्रम प्रस्तुत गर्नुभयो।
लामो समय विद्यालयमा सेवा दिनु भएका पूर्व शिक्षक तथा अक्षयकोष दाता बेदप्रसाद तिमल्सिना र अर्जुनप्रसाद तिमल्सिना ले विद्यार्थीहरूलाई स्टेसनरी सामग्री वितरण गर्नु भएको थियो।
समाजसेवी दीपक घिमिरे, मीना घिमिरे र अप्सरा घिमिरे ले शैक्षिक सामग्री सहयोग गर्दै विद्यालयप्रतिको प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक श्यामबहादुर लामा ले कक्षा ९ र १० सञ्चालनका लागि गाउँपालिकासँग औपचारिक माग राख्दै स्थानीय तहको सहयोग अपरिहार्य रहेको बताउनुभयो।
कार्यक्रममा पूर्व शिक्षक, पूर्व विद्यालय व्यवस्थापन समिति पदाधिकारी, अभिभावक संघका प्रतिनिधि, पूर्व विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
स्वागत मन्तव्य सिताराम तिमल्सिना ले राख्नुभएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनकृष्ण तिमल्सिना को सभापतित्वमा सम्पन्न भयो। कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका मन्जु घिमिरे ले गर्नुभएको थियो।
६५ वर्षको गौरवशाली इतिहास बोकेको यस विद्यालयको जन्मोत्सवले शिक्षा र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाएको सहभागीहरूको भनाइ थियो।
काभ्रेपलाञ्चोक / बेथानचोक गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन हुनेगरी संघ सरकारद्वारा छ वटै वडाका लागि विनियोजित विकास बजेट कार्यान्वयनमा ढिलाइ भएको विषयमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराइएको छ।
गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले मन्त्रालयमा भेट गरी संघीय बजेटबाट विनियोजित योजनाहरू समयमै कार्यान्वयन नहुँदा विकास निर्माणका काम प्रभावित भएको जानकारी गराउँदै आवश्यक पहलका लागि अनुरोध गरेको हो। सो अवसरमा बेथानचोक गाउँपालिका वडा नं. ६ का Gen Z प्रतिनिधि ऋषि थापाको उल्लेखनीय उपस्थिति रहेको थियो।
अध्यक्ष अधिकारीले बजेट स्वीकृत भइसके पनि प्रक्रियागत ढिलाइ, निकासा तथा कार्यान्वयनमा समस्या देखिँदा स्थानीय तहमा विकास अपेक्षित गतिमा अघि बढ्न नसकेको उल्लेख गरे। उनले छ वटै वडामा सडक, खानेपानी, भौतिक पूर्वाधार निर्माणलगायतका योजनाहरू प्रभावित भएको जनाउँदै बजेट समयमै निकासा र कार्यान्वयन सुनिश्चित गर्न मन्त्रीको सक्रिय भूमिकाको अपेक्षा व्यक्त गरे।
भेटका क्रममा Gen Z प्रतिनिधि ऋषि थापाले विशेषगरी दुर्गम तथा पहाडी वडाहरूमा विकास योजनाको कार्यान्वयनमा ढिलाइ हुँदा स्थानीय नागरिक, विशेषतः युवा पुस्ता प्रत्यक्ष रूपमा प्रभावित भइरहेको धारणा राखेका थिए। उनले संघीय र स्थानीय तहबीचको समन्वय सुदृढ भएमा विकास कार्यले गति लिने विश्वास व्यक्त गरे।
भेटमा मन्त्री घिसिङले उठाइएका विषयप्रति चासो व्यक्त गर्दै समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उनले संघीय सरकारबाट विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गरी प्रक्रिया सहज बनाइने आश्वासन दिएका छन्।
स्थानीय तहका जनप्रतिनिधिहरूले संघीय सरकारको सक्रिय सहयोगमा विकास निर्माणका काम समयमै सम्पन्न भई नागरिकले प्रत्यक्ष लाभ पाउने वातावरण सिर्जना हुने विश्वास व्यक्त गरेका छन्।
भक्तपुर / नेकपा एमाले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २७–२९ सम्म सम्पन्न भई अध्यक्ष पदमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन्। अर्का अध्यक्ष पदका प्रत्यासी ईश्वर पोखरेलबाट कडा टक्कर मिल्ने जनअपेक्षाका बाबजुद पनि ओली कार्यकर्ताको करिब दुईतिहाइ मत प्राप्त गर्दै निर्विकल्प नेतृत्वका रूपमा तेस्रो कार्यकालका लागि पुनः उदाएका छन्। यससँगै उनले पार्टी इतिहासमै निरन्तर तेस्रोपटक अध्यक्ष बन्ने कीर्तिमानसमेत कायम गरेका छन्।
दलीय हैसियतबाट राष्ट्रमा एक कम्युनिस्ट नेतृत्व र ‘ब्रान्ड’ बनाएका ओली भदौ २३ र २४ को जेन्जी आन्दोलनका कारण सत्ताबाट बाहिरिन बाध्य भएका व्यक्ति हुन्। जेन्जी आन्दोलनका क्रममा आगलागीबाट उनको बालकोटस्थित निवास खण्डहर बनेपछि हाल उनी भक्तपुरको गुण्डूस्थित भाडाको घरमा बस्दै महेश बस्नेतको प्रत्यक्ष सहारा र निगरानीमा राजनीतिक गतिविधिमा संलग्न रहँदै आएका छन्। यद्यपि, सार्वजनिक जीवनमा फर्किएदेखि नै उनले जेन्जी आन्दोलनलाई आलोचना गर्दै ‘बेकुफको चाहत’ भन्दै निरन्तर प्रहार गरिरहेका छन्।
जेन्जी आन्दोलनको प्रभावसँगै एमालेभित्र केही नेताहरूले ओलीको तत्काल बहिर्गमन वा महाधिवेशनमार्फत नेतृत्व पुस्तान्तरणको बहस सुरु गरिसकेका थिए। तर राजनीतिमा चतुर मानिने ओलीले काँग्रेसजस्तो ढिलासुस्ती र किचलो नगरी देशभरिका कार्यकर्ताबाट आफूलाई अनुमोदन गराउन तत्काल महाधिवेशन घोषणा गरी सम्पन्न गरे र वैधानिक प्रक्रिया पूरा गरेका छन्। उनले चालेको कदमलाई पार्टीभित्र देशभरिका एमाले प्रतिनिधिहरूले दुईतिहाइ मत दिई वैधानिकता प्रदान गरे। यसपटक पुस्तान्तरण र युवा नेतृत्व हस्तान्तरणको प्रयास सफल हुन सकेन।
युवाको आन्दोलनले मुलुक तातेका बेला एमालेभित्र पनि परिवर्तनको चाहना तीव्र हुने र युवा नेतृत्वले पार्टी दिशानिर्देश गर्ने अनुमान गरिएको थियो। तर अनुमानविपरीत प्रतिनिधिहरूको दुईतिहाइ समर्थनसहित ओलीलाई पुनः निर्विकल्प अध्यक्षका रूपमा जिम्मेवारी सुम्पिइयो। एमालेको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा ओली समूहकै वर्चस्व रहेकाले पनि हिंसात्मक आन्दोलनबाट सत्ताबाट हटाइएका र केही युवाले नचाहेका ओली पार्टी महाधिवेशनमार्फत नेतृत्वमा कायम रहन सफल भएको देखिन्छ।
देश निर्वाचनतर्फ होमिएको छ। दल दर्ता र निर्वाचन प्रक्रियामा सामेल रहँदै पनि एमाले र काँग्रेस प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सर्वोच्च अदालतको निर्णयको प्रतीक्षामा छन्। यदि सर्वोच्च अदालतबाट संसद् पुनःस्थापना भए ओली पुनः देशको सर्वोच्च कार्यकारी पदमा बहाल हुनेछन्। यदि त्यसो नभए पनि निर्वाचनमार्फत जनअपेक्षा बुझी जनताको मन जित्दै पार्टीलाई देश परिवर्तनको संवाहक बनाइ जनमत आफ्ना पक्षमा ल्याएर बहुमत सिद्ध गर्नुपर्ने चुनौती उनका सामु छ।
देशभर महाधिवेशन प्रतिनिधि छनोटदेखि स्थानीय तहसम्म एकता, मेलमिलाप र समन्वय कायम गर्न सके उनी सफल हुनेछन्। तर जरैदेखि संयन्त्र कमजोर भएको खण्डमा उनलाई अब्बल स्थान हासिल गर्न कठिन हुने देखिन्छ।
दम्भ र आवेगजस्तो देखिने तीखो प्रहारका बाबजुद निडर रूपमा जेन्जीलाई चुनौती दिने ओली केवल उखान–टुक्काको भरमा आफूलाई प्रमाणित गरिरहेका व्यक्ति भने होइनन्। उनमा स्पष्ट भिजन छ, संगठनमा एकता कायम गर्न सक्ने क्षमता छ। उनी स्वयं अध्ययनशील, ज्ञानसम्पन्न र अनुभवले खारिएका नेता हुन्। सबैका आ–आफ्ना चाहना र रहर हुन्छन्, तर ती निजी स्वार्थमा सीमित हुनुहुँदैन। राष्ट्रप्रेमका अभिव्यक्ति सहित व्यवहारमा खरो उत्रने अभ्यास र पहिचानले नै उनलाई ‘हिरो’ बनाएको हो।
एमालेका समर्थकहरूले मात्र होइन, राजनीतिक वृत्तका धेरैले स्वीकार गरेका छन्—जति नै तिकडम गरिए पनि आगामी निर्वाचनबाट नेकपा एमाले पहिलो दल बन्ने सम्भावना बलियो छ। जेन्जी आन्दोलन युवाको परिवर्तन चाहना हो, हाल कायम व्यवस्थाको विकल्प खोज होइन भन्ने कुरा स्वयं उनीहरूले पनि स्वीकार गरिसकेका छन्। त्यसैले बलियो जनाधार र तल्लो तहसम्म पहुँच भएको एमालेलाई सिध्याउन सकिन्न भन्ने यथार्थ धेरैले बुझेका छन्।
अब जेन्जी तथा अन्य दल र समूहको विरोध र प्रतिकारका बाबजुद एमालेलाई उत्कृष्ट बनाउने जिम्मेवारी नयाँ ऊर्जासहित ओलीकै काँधमा आएको छ। उनी जनमासमा पुग्नैपर्छ। जिम्मेवारीप्रति बफादार रहँदै पार्टी अगाडि बढाउन निर्वाचित पार्टीपंक्तिबाट पनि उनलाई सहयोग हुने देखिन्छ। अधिकांश पदाधिकारी र सदस्य ओली पक्षकै निर्वाचित भएका छन्। साथै ईश्वर पोखरेलप्रति पनि विगतझैँ चिढ्याउने मनस्थितिमा ओली नरहेकाले यो प्रक्रिया प्रजातान्त्रिक पद्धति सुदृढ गर्दै एमाले सशक्त बनाउने दिशामा अघि बढ्ने विश्वास गर्न सकिन्छ।