बेथानचोक नारायण विद्यालयको ६५औँ उत्सव सम्पन्न

Bytrikaldarshan

२०८२ पुष ९, बुधबार १८:०० २०८२ पुष ९, बुधबार १८:०० २०८२ पुष ९, बुधबार १८:००
Exif_JPEG_420

काभ्रेपलान्चोक जिल्ला को दक्षिणी भेग बेथानचोक गाउँपालिका वडा नम्बर ३ स्थित श्री बेथानचोक नारायण आधारभूत विद्यालयले ६५ औँ वार्षिक जन्मोत्सव २०८२ साल पौष ९ गते बुधबार उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ। शिक्षा, सम्मान र सामुदायिक सहभागितालाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा स्थानीय सरकार, शिक्षाविद्, समाजसेवी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भगवान अधिकारी ले गुणस्तरीय शिक्षाका लागि गाउँपालिका निरन्तर प्रतिबद्ध रहेको बताउँदै विद्यालयको शैक्षिक स्तर उकास्न आवश्यक नीति, स्रोत र सहकार्यमा कुनै कमी हुन नदिइने स्पष्ट गर्नुभयो। उहाँले चुनौतीपूर्ण परिस्थितिमा पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वडा नं. ३ का वडा अध्यक्ष कुबेर ढकाल ले गुणस्तरीय र व्यवहारिक शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्दै विद्यालयलाई समुदायको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। विशेष अतिथि समाजसेवी आरजु केसी ले शिक्षा नै समाज रूपान्तरणको आधार भएको बताउनुभयो।

कार्यक्रममा पार्वती बहुमुखी क्याम्पसका प्रमुख राजेश तिमल्सिना र सह–प्रधानाध्यापक पदम नारायण तिमल्सिना ले शिक्षाको गुणस्तर र निरन्तरतामाथि धारणा राख्नुभयो। शिक्षण पेशाको प्रारम्भदेखि नै योगदान पुर्‍याउनु भएका पूर्व शिक्षक ठुलोबाबु तिमल्सिना ले विद्यालयको ऐतिहासिक पृष्ठभूमिसहित शिक्षाको विकासक्रम प्रस्तुत गर्नुभयो।

लामो समय विद्यालयमा सेवा दिनु भएका पूर्व शिक्षक तथा अक्षयकोष दाता बेदप्रसाद तिमल्सिना र अर्जुनप्रसाद तिमल्सिना ले विद्यार्थीहरूलाई स्टेसनरी सामग्री वितरण गर्नु भएको थियो।

समाजसेवी दीपक घिमिरे, मीना घिमिरे र अप्सरा घिमिरे ले शैक्षिक सामग्री सहयोग गर्दै विद्यालयप्रतिको प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक श्यामबहादुर लामा ले कक्षा ९ र १० सञ्चालनका लागि गाउँपालिकासँग औपचारिक माग राख्दै स्थानीय तहको सहयोग अपरिहार्य रहेको बताउनुभयो।

कार्यक्रममा पूर्व शिक्षक, पूर्व विद्यालय व्यवस्थापन समिति पदाधिकारी, अभिभावक संघका प्रतिनिधि, पूर्व विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

स्वागत मन्तव्य सिताराम तिमल्सिना ले राख्नुभएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनकृष्ण तिमल्सिना को सभापतित्वमा सम्पन्न भयो। कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका मन्जु घिमिरे ले गर्नुभएको थियो।

६५ वर्षको गौरवशाली इतिहास बोकेको यस विद्यालयको जन्मोत्सवले शिक्षा र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाएको सहभागीहरूको भनाइ थियो।

Exif_JPEG_420
Exif_JPEG_420
Exif_JPEG_420

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ