तोरी फुल्दा झल्कियो ठुलाचौरको कृषि र प्रकृतिको सौन्दर्य

काभ्रेपलान्चोक / काभ्रेपलान्चोक जिल्ला बेथानचोक गाउँपालिका वडा नं. ३ ठुलाचौर क्षेत्रमा फुलिरहेको तोरीले यतिबेला पूरै डाँडाकाँडा पहेँलो रंगले ढाकिएको छ। नीलो आकाशमुनि पहेँलै बारिका पाटामा लहरिँदै फुलेका तोरीका फूलले ठुलाचौरको प्राकृतिक सौन्दर्यलाई अझै मनमोहक बनाएको छ।
ढल्कँदो भिरालो जमिनमा एकैसाथ फुलेको तोरीले यहाँको ग्रामीण जीवनशैली र कृषि संस्कृतिलाई पनि उजागर गरेको स्थानीयवासी बताउँछन्। हावासँगै हल्लिँदा सुनौलो छालझैँ देखिने तोरीका फूलले आउने जाने यात्रु मात्र होइन, फोटो तथा भिडियो खिच्न आउनेहरूलाई समेत आकर्षित गरिरहेको छ।
स्थानीयका अनुसार तोरी बाली राम्रो फुलेपछि तेल उत्पादन र पर्यटकीय आकर्षणमा समेत सकारात्मक प्रभाव परेको छ। “यस वर्ष मौसम अनुकूल भएकाले तोरी राम्रो फुलेको छ,” एक स्थानीय किसानले भने, “फूल फुल्ने समयमै धेरै मानिस यहाँ फोटो खिच्न आउन थालेका छन्।”
ठुलाचौरमा फुलेको तोरीले गाउँको पहिचानलाई थप उजागर गरेको भन्दै स्थानीय तहले पनि कृषि र प्रकृतिलाई जोडेर आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावनातर्फ ध्यान दिनुपर्ने आवाज उठ्न थालेको छ।





Post Comment