
विजयादशमीको पावन अवसरमा देशभरका शक्ति पीठ तथा देवी मन्दिरहरूमा परम्परागत रूपमा पशुबलि दिने चलन देखिन्छ। तर ‘बलि’ भन्ने शब्दको वास्तविक अर्थ प्रायः हामीले बुझ्न सकेका छैनौं। शास्त्रहरूले भनेको बलि कुनै निर्दोष प्राणीको हत्या होइन, आफ्नै भित्रका विकारलाई छोड्नु हो।
पुराण र धर्मग्रन्थमा उल्लेखित पञ्चबलि वास्तवमा पाँच प्रकारका आन्तरिक दोषलाई परित्याग गर्ने सन्देश हो—काम, क्रोध, लोभ, मोह र मात्सर्य। तर समयक्रममा यसको गहिरो भावलाई बिर्सेर मानिसहरूले शब्दको बाह्य अर्थ मात्र लिएर निर्दोष प्राणीको हत्या गर्न थालेका छन्।
🔹 काम (बोका) : बोका प्रायः कामवासना बढी हुने प्राणी मानिन्छ। शास्त्रको भाव थियो– बोकाको जस्तो कामबासनामा नलिप्त होऊ, तर अर्थ नबुझी आज बोका नै बलि चढाइन्छ।
🔹 क्रोध (राँगो) : राँगो अत्यन्त क्रोधी हुन्छ। सन्देश थियो– राँगोको जस्तो क्रोधी स्वभाव त्याग, तर उल्टै राँगोको हत्या गरिन्छ।
🔹 लोभ (कुखुरा) : कुखुरा सानो कुरा देख्दा पनि लोभी भएर झगडा गर्छ। शिक्षा थियो– कुखुराको जस्तो लोभ नगर्नु, तर आज कुखुराको रगत बगाइन्छ।
🔹 मोह (परेवा) : परेवाको जोडी मायामा यति मस्त हुन्छ कि कहिलेकाहीँ आफ्ना बच्चालाई पनि बिर्सन्छ। भाव थियो– त्यस्तो मोहमा नफस, तर आज परेवा मारिन्छ।
🔹 मात्सर्य (भेडा) : भेडा समूहको पछि पछि अन्धो धन्दा चलाउँछ। सिकाइ थियो– भेडाको जस्तो अन्धो अनुकरण नगर्नु, तर आज भेडालाई बलि दिन्छन्।
हामी चेतनशील मानव हौं। अरू जीवको बाँच्न पाउने अधिकार खोस्नु मानवीय मूल्यको अपमान हो। देवीलाई प्रसन्न पार्ने नाममा निर्दोष प्राणीको रगत बगाउनु धर्म होइन, अधर्म हो। देवी–देवता हाम्रो स्वादका लागि प्राणीको हत्या होइन, मनको शुद्धता र आन्तरिक विकारको त्याग चाहन्छन्।
यस विजयादशमीमा सच्चा बलि यही हो—काम, क्रोध, लोभ, मोह र मात्सर्यको अन्त्य। साकाहारी भोजन ग्रहण गर्दै, करुणा र मानवताको सन्देश फैलाउँदै दशैं मनाऔं।
विजयादशमी २०८२ का हार्दिक मंगलकामना।
विष्णु प्रसाद वाग्ले
अध्यक्ष, प्रणामी व्यवसाय संघ नेपाल
– प्रणाम –
