काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन्। स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई आजै गृहमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्। नियुक्तिपछि उनले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको बताइएको छ।
गुरुङले आफ्नो सम्पत्तिसम्बन्धी विषयमा चौतर्फी प्रश्न उठेपछि गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि मन्त्री रहँदा तथा पदत्यागपछि सार्वजनिक रूपमा उठेका सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले एक समिति गठन गरेको थियो।
उक्त समितिले गुरुङलाई दोषी नठहर्याउँदै कुनै अनियमितता नभएको निष्कर्ष निकालेपछि उनी पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किन लागेका हुन्।
