
बेथानचोक / गाउँपालिकाको प्रत्यक्ष नेतृत्व तथा ग्रामिण विकास संस्थाको सहयोगमा गत वर्षको बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा सञ्चालन गरिएको पुनर्निर्माण, शैक्षिक सुधार तथा राहतसम्बन्धी परियोजना सफलतापूर्वक सम्पन्न भई त्यसको विस्तृत विवरण गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।
परियोजना अन्तर्गत बाढी र पहिरोबाट क्षतिग्रस्त ६३ वटा खानेपानी आयोजना पुनःनिर्माण तथा मर्मत गरिएको छ। साथै १० वटा विद्यालयमा भौतिक संरचना निर्माणसँगै शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गरिएका छन्। विद्यालय, समुदाय तथा विद्यार्थीलाई लक्षित गरी मनोसामाजिक परामर्शसम्बन्धी तालिम पनि प्रदान गरिएको जनाइएको छ।
त्यसैगरी, प्राकृतिक विपद्का कारण अति प्रभावित परिवारलाई राहत वितरण कार्यक्रम समेत सञ्चालन गरिएको थियो। परियोजनाले प्रभावित समुदायमा आधारभूत सेवा पुनःस्थापना, शिक्षाको गुणस्तर सुधार र सामाजिक पुनर्स्थापनामा महत्वपूर्ण योगदान पुर्याएको गाउँपालिकाले जनाएको छ।
सम्पन्न परियोजनाको प्रगति विवरण, उपलब्धि तथा भावी व्यवस्थापनसम्बन्धी कागजात औपचारिक रूपमा गाउँपालिकालाई हस्तान्तरण गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।
