प्रधानमन्त्रीको सीमा सम्बन्धी भनाइप्रति विज्ञहरूको असन्तुष्टि

Bytrikaldarshan

२०८३ जेष्ठ १८, सोमबार ०८:१९ २०८३ जेष्ठ १८, सोमबार ०८:१९ २०८३ जेष्ठ १८, सोमबार ०८:१९

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने आशय व्यक्त गरेको विषयलाई लिएर सीमा तथा भूगोलका विज्ञहरूले गम्भीर आपत्ति जनाएका छन्।

सीमाविद् बुद्धिनारायण श्रेष्ठ, डा. पीताम्बर शर्मा, डा. नरेन्द्र खनाल, डा. जगत भुसाल, प्रभाकर शर्मा तथा डा. द्वारिकानाथ ढुङ्गेल ले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आश्चर्य व्यक्त गरेका हुन्।

विज्ञहरूले विज्ञप्तिमार्फत प्रधानमन्त्रीले कुन तथ्य, प्रमाण र आधारका आधारमा यस्तो अभिव्यक्ति दिनुभएको हो भन्ने स्पष्ट पार्न आग्रह गरेका छन्। उनीहरूका अनुसार नेपालले भारतको भूमि अतिक्रमण गरेको वा भारतको सीमा मिचेको भन्ने कुनै आधिकारिक निष्कर्ष वा जानकारी हालसम्म सार्वजनिक भएको छैन।

विज्ञप्तिमा भनिएको छ, “नेपालले भारतको सीमा मिचेको भन्ने कुरा आजसम्म कुनै आधिकारिक निकायबाट सार्वजनिक रूपमा सुनिएको थिएन। यस्तो अभिव्यक्ति पहिलो पटक देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट नै आएको छ।”

विज्ञहरूले नेपाल–भारत सीमा सम्बन्धी विषय राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रिय हितसँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील विषय भएकाले यस्ता मुद्दामा तथ्य र प्रमाणका आधारमा मात्र सार्वजनिक अभिव्यक्ति दिनुपर्ने बताएका छन्।

उनीहरूले प्रधानमन्त्रीलाई आफ्नो भनाइबारे सार्वजनिक रूपमा स्पष्टीकरण दिन, आम नागरिकमा उत्पन्न भ्रम हटाउन आवश्यक पहल गर्न तथा प्रतिनिधिसभामा व्यक्त उक्त अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउन सभामुखसमक्ष अनुरोधसमेत गरेका छन्।

विज्ञहरूको भनाइमा सीमा सम्बन्धी विषयमा जिम्मेवार पदमा रहेका व्यक्तिहरूले तथ्यपरक र प्रमाणमा आधारित धारणा सार्वजनिक गर्नु आवश्यक छ, ताकि राष्ट्रिय हितसँग सम्बन्धित विषयमा अनावश्यक भ्रम र विवाद सिर्जना नहोस्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ