
हेटौँडा / श्रीकृष्ण प्रणामी युवा परिषद् संस्थाको ३६औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको अन्तर–प्रास स्तरीय ‘प्रणामी कप’ फुटबल प्रतियोगिता २०८१ माघ १६ गते भव्य रूपमा सम्पन्न भएको छ।
मकवानपुर जिल्लाभर छरिएर रहेका प्रणामी युवाहरूलाई धर्म, संस्कृति तथा सामाजिक क्रियाकलापमार्फत एकतामा बाँध्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताले आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ। प्रतियोगितामा विभिन्न प्रासहरूबाट ७ वटा टिमको सहभागिता रहेको थियो।
कार्यक्रम संयोजक तथा जिल्ला सह-कोषाध्यक्ष अजय सापकोटाको सक्रिय समन्वय तथा नेतृत्वमा सम्पन्न प्रतियोगितामा प्रास गौरिटारले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ भने प्रास गुरुधाम उपविजेता बनेको छ। विजेता टिमलाई नगद रु. २२,००० सहित शिल्ड प्रदान गरिएको थियो भने उपविजेता टिमलाई नगद रु. ११,०००, शिल्ड तथा मेडल प्रदान गरिएको संस्थाका जिल्ला सचिव राजेश वाग्लेले जानकारी दिनुभयो।
यस प्रतियोगितामा उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष सम्मान समेत गरिएको छ। Best Defence तर्फ किरण चौलागाइँ, Best Forward तर्फ जगदीश न्यौपाने, Best Goalkeeper तर्फ नवराज ढकाल तथा Best Player तर्फ आवाश खतिवडा छनोट भएका छन्। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आयोजक संस्थाले विशेष सम्मानसहित मेडल प्रदान गरेको जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष उद्दव सत्यालले यस्ता खेलकुद गतिविधिले समाजलाई एकतामा बाँध्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, संस्थाका अध्यक्ष सुजन तिमल्सिनाले आफ्नो कार्यकालमा यस अभियानलाई सफल, सभ्य तथा भव्य बनाउन सहयोग पुर्याउने सम्पूर्ण अग्रज समाजसेवी, बुद्धिजीवी तथा युवाप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।



