महेन्द्र आदर्श स्कुललाई चौथो लायन्स कप गर्ल्स फुटसलको उपाधि

सचिन्द्र महर्जन
ललितपुर / चौथो लायन्स कप गर्ल्स फुटसल प्रतियोगिताको उपाधि महेन्द्र आदर्श स्कुलले जित्न सफल भएको छ। लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसद्वारा आयोजना गरिएको सो फुटसल प्रतियोगिताको फाइनल खेलमा महेन्द्र आदर्श स्कुलले महालक्ष्मी स्कुललाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि चुमेको हो। निर्धारित समयमा दुवै टोलीबीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो।
कुल १७ वटा विद्यालयहरूले सहभागिता जनाएको सो प्रतियोगितामा भ्याली पब्लिक स्कुल तेस्रो र बिश्वामित्र गणेश माध्यमिक विद्यालय चौथो स्थानमा रहेका थिए।
कात्तिक २४ गतेदेखि सुरु भई २६ गते सम्पन्न भएको प्रतियोगितामा महेन्द्र आदर्शकी करीना तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भइन् भने मिन्जल लामा उच्च गोलकर्ताको उपाधि जित्न सफल भइन्।
विजेता विद्यालय तथा खेलाडीहरूलाई प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाकी उप–प्रमुख लक्ष्मी महर्जन, लायन्स क्लबका डिस्ट्रीक्ट गभर्नर लायन महेश आचार्य, लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसकी अध्यक्ष सृष्टि बज्राचार्य, र डिस्ट्रीक्ट चिफ स्पोर्ट्स तथा रोड सेफ्टी प्रमुख लायन दिप्रश शाक्यले ट्रफी, मेडल, प्रमाणपत्रका साथै केड कम्पनी द्वारा प्रदान गरिएका स्कुल ब्याग, स्टेशनरी र अन्य सामग्री वितरण गरेका थिए।
फाइनल खेलमा विशेष अतिथिका रूपमा लायन्स क्लबका प्रथम भाइस डिस्ट्रीक्ट गभर्नर लायन योगराज कडेल शर्मा, जोन चेयरपर्सन लायन बिनोद गौचन, प्रोग्राम कोअर्डिनेटर लायन सरु महर्जन लगायत लायन्स क्लब अफ ललितपुर रोयलका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो।
महिलाहरूलाई खेलकुदमा सहभागी गराई उनीहरूमा निहित क्षमता उजागर गर्ने तथा महिला सशक्तीकरणमा योगदान पुर्याउने उद्देश्यले लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसले हरेक वर्ष यस किसिमको प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ।






Post Comment