त्रिकालदर्शन

धार्मिक समाचार

ढुंखर्कमा गुन्जिँदैछ धर्म जागनी महोत्सव २०८२ को भव्यताका साथ तयारी सुरु

काभ्रे / काभ्रेपलान्चोक जिलाको दक्षिणी भेग बेथानचोक गाउँपालिका वडा नम्बर २ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आगामी मिति २०८२ साल चैत २४ गतेदेखी ३० गतेसम्म ऐतिहासिक धार्मिक महोत्सवको तयारी विधिवत रूपमा सुरु भएको छ। मिति २०८२ साल मंसिर २० गते शनिबारका दिन मन्दिर प्रांगणमा सम्पन्न तयारी समितिको बैठकले महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको हो।

महोत्सव तयारी समितकी संयोजक गीता शर्माको अध्यक्षतामा बसेको बैठकले आगामी २०८२ चैत २४ गतेदेखि ३० गतेसम्म एक साताव्यापी विशेष कार्यक्रम आयोजना गर्ने तय गरेको छ। सो अवसरमा ‘श्रीमद् तारतम सागर १०८ पाठ पारायण तथा श्रीकृष्ण कथा ज्ञान महायज्ञ’ का साथै ‘श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव २०८२’ सञ्चालन हुनेछ।

जगतगुरु महाराजजीको उपस्थिति रहने आयोजक समितिका अनुसार महोत्सवको समारोहमा श्रीकृष्ण प्रणामी धर्मका धर्माचार्य, वर्तमान सतगुरु स्वरूप जगत्गुरु आचार्य श्री १०८ कृष्णमणि महाराजजीको विशेष उपस्थिति रहनेछ। उहाँको बाहुलीबाट कलश अनावरण गरिने कार्यक्रम तय भएको बैठकले जानकारी दिएको छ।

तयारी तथा व्यवस्थापन शनिबार (मंसिर २० गते) सम्पन्न बैठकले यसअघि गठित तयारी समितिलाई नै निरन्तरता दिँदै जिम्मेवारी प्रदान गरेको छ। बैठकले पूर्ववत समितिले नै कार्यक्रम सम्पन्न गर्ने र आवश्यकता महसुस भएमा थप सदस्यहरू चयन गर्ने निर्णय गरेको छ।

महोत्सवलाई थप व्यवस्थित, अनुशासित र भक्तिमय बनाउनका लागि विभिन्न विषयगत उपसमितिहरू गठन गर्ने प्रक्रिया तत्काल अघि बढाइने जनाइएको छ।

विशिष्ट व्यक्तित्वहरूको उपस्थिति तयारी बैठकमा श्रीकृष्ण प्रणामी सम्प्रदायका विभिन्न संघ–संस्थाका पदाधिकारी तथा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो। बैठकमा श्रीकृष्ण प्रणामी धर्मका धर्मप्रचारक शास्त्री श्री सुदर्शन तिमल्सिना तथा पण्डित श्री गोबिन्द बिडारी , श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका निवर्तमान अध्यक्ष श्याम केसी, महासचिव भोला दाहाल, सदस्य रमेश प्रसाद लामिछाने, नवतनधाम सञ्चालक समितिका सचिव मातृका प्याकुरेल, र सह–कोषाध्यक्ष भुपेन्द्रमान प्रधानको उपस्थिति थियो।

त्यस्तै, स्थानीय तथा जिल्ला नेतृत्वबाट काभ्रे जिल्ला समिति अध्यक्ष कृष्णप्रसाद पराजुली, उपाध्यक्ष केदारनाथ तिमल्सिना, सदस्य हुद्धराज तिमल्सिना, भक्तपुर अध्यक्ष टीपी उप्रेती, श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति काभ्रेकी अध्यक्ष सरिता सापकोटा तथा युवा परिषद् काभ्रेपलान्चोकका सचिव सन्तोष बजगाई लगायत भक्त सुन्दरसाथ हरूको सक्रिय सहभागिता रहेको थियो। आयोजकले यस धार्मिक महोत्सवमा काभ्रे जिल्ला मात्र नभई देश तथा विदेशबाट समेत ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति रहने अपेक्षा गरेको छ।

Exif_JPEG_420