
चाडपर्वको भीडभाडबीच यात्रीहरूले वीपी राजमार्ग प्रयोग गर्दा भोग्नु परेका समस्या र गत वर्ष २०८१ असोज १०,११ र १२ को बाढीले सडकमा पुर्याएको क्षति पश्चातको पुनःनिर्माणको अवस्थाबारे ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले नवमीको दिन बुधबार स्थलमै पुगेर निरिक्षण गर्नुभएको छ।
मन्त्री घिसिङ सडक विभागका महानिर्देशक, सम्बन्धित आयोजना प्रमुख तथा प्राविधिक टोली सहित राजमार्गको विभिन्न खण्डमा पुगेर सडकको अवस्था, यातायात व्यवस्थापन, ट्राफिक नियन्त्रण र मर्मत पुनःनिर्माण कार्यबारे जानकारी लिनु भएको हो।
विशेषगरी चाडपर्वमा घर फर्किने तथा गाउँ आउने यात्रुहरूको चाप बढ्ने भएकाले राजमार्गमा हुने भीड, सडकमा देखिएका समस्या, भत्किएका भागहरूको मर्मत, सुरक्षासम्बन्धी चुनौती र आगामी दिनमा गर्ने सुधार योजनाबारे उहाँले सम्बन्धित निकायलाई तत्काल प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ।
सडक विभागका अधिकारीहरूका अनुसार गत वर्षको बाढीले राजमार्गका धेरै खण्डमा क्षति पुर्याएको र त्यसको पुनःनिर्माण कार्य चरणबद्ध रूपमा अघि बढाइरहेको जानकारी गराइएको छ। मन्त्री घिसिङले स्थानीय जनप्रतिनिधि र सेवाग्राहीसँग पनि प्रत्यक्ष संवाद गरी सडक मर्मतमा गुणस्तर, समयसीमा र यात्रुहरूको सहजतालाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ।
यसरी चाडपर्वकै बीचमा मन्त्री स्वयं स्थलमै पुगेर निरीक्षण गर्नुले यात्रु सुरक्षाप्रति सरकारले दिएको प्राथमिकता झल्काएको देखिन्छ।
