त्रिकालदर्शन

धार्मिक समाचार

आज विजयादशमी टिकाको उत्तम साईत ११:५३ मा

काभ्रेपलान्चोक / हिन्दु धर्मावलम्बीहरूको महान पर्व विजयादशमीको पावन अवसर आज देशभर हर्ष, उल्लास र भक्तिभावसहित मनाइँदैछ। असत्यमाथि सत्यको विजय, अधर्ममाथि धर्मको विजय, अन्यायमाथि न्यायको विजयको सन्देश बोकेको यो पर्वलाई धार्मिक मात्र होइन, सांस्कृतिक र आध्यात्मिक दृष्टिले पनि विशेष महत्त्व दिइन्छ।

आज दशैंको मुख्य दिन अर्थात् टिकाको दिन। परम्पराअनुसार घर घरमा ज्येष्ठ व्यक्तिले टिका जमरा लगाई सन्तान, नातागोता र परिवारजनलाई आशिष दिने प्रथा छ। पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्षको दशैंमा टिका जमरा ग्रहण गर्ने उत्तम साईत विहान ११:५३ बजे परेको छ।

शास्त्रानुसार यस शुभसाईतमा टिकाले मातृशक्तिको कृपा, जमराले जीवनशक्ति र अक्षतले समृद्धिको ऊर्जा ग्रहण गराइन्छ। टिका केवल रातो अबिर मात्र होइन, यो देवी दुर्गाको आशीर्वाद र जीवनयात्रामा सत्य, धर्म र प्रेमको बाटो सम्हाल्ने आध्यात्मिक शक्ति पनि हो। जमरा भनेको हरियाली र आशाको प्रतीक हो, जसले जीवनलाई उर्वरता, प्रगति र निरन्तरताको सन्देश दिन्छ।

यस दिन टिका जमरा ग्रहण गर्दा नजिक टाढा रहेका परिवारजन एक ठाउँमा भेला हुन्छन्। यो मिलनमा आशीर्वाद मात्र होइन, माया, सम्झना र आत्मीयताको बन्धन पनि गाँसिन्छ। दशैंलाई यसैले ‘मिलनको पर्व’ र ‘हृदयलाई शुद्ध पार्ने शक्ति’ भनिएको छ।

दशैंको टिका ग्रहण गर्दा ईश्वरलाई स्मरण गर्दै, देवीलाई वन्दना गर्दै, मनलाई शान्त र निर्मल राख्ने परम्परा छ। धार्मिक विश्वासअनुसार यस क्षणमा ग्रहण गरिने टिका जमरा जीवनमा दीर्घायु, आरोग्य, समृद्धि र आध्यात्मिक शान्ति प्रदान गर्ने मानिन्छ।