काठमाडौं / भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। भेटपश्चात् प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत लामिछानेसँगको तस्बिर सार्वजनिक गर्दै नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
मोदीले लामिछानेसँगको भेटप्रति खुसी व्यक्त गर्दै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि दुवै देशबीच अझ नजिकको सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्। उनले नेपाललाई भारतको ‘छिमेकी पहिलो’ (Neighbourhood First) नीतिअन्तर्गत प्रमुख साझेदारका रूपमा लिइएको पनि स्पष्ट पारेका छन्।
प्रधानमन्त्री मोदीले नेपालसँग रहेको ऐतिहासिक, सांस्कृतिक, आर्थिक तथा जनस्तरीय सम्बन्धलाई अझ सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका छन्। साथै, नयाँ राजनीतिक नेतृत्वसँग सहकार्य गर्दै द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी र परिणाममुखी बनाउने अपेक्षा समेत व्यक्त गरेका छन्।
रास्वपा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतमा विभिन्न राजनीतिक नेतृत्वसँग समेत भेटघाट र छलफल गरिरहेको छ। मोदीसँगको भेटलाई नेपाल–भारतबीचको राजनीतिक संवाद, आपसी विश्वास तथा सहकार्यलाई अझ मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
