
काठमाडौ / काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिका वडा नम्बर ६ का जेन्जी अगुवा ऋषी थापा रगतले लत्तपत्तिएको टिसर्ट, फाटेको जुत्ता र नारासहितको पर्चा बोकेर छानबिन आयोगमा उपस्थित भई बयान दिएका छन्।
मिति २०८२ भदौ २३ गते आफू तथा आन्दोलनकारीमाथि गरिएको दमनको विरोध जनाउँदै आयोगको कार्यालय पुगेका थापा रगतले उक्त घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। आयोगसमक्ष बयान दिने क्रममा उनले सो दिनको दमन योजनाबद्ध रूपमा गरिएको दाबी गर्दै दोषीको पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याए।
थापाले यस्ता घटनाको पुनरावृत्ति हुन नदिन निष्पक्ष, स्वतन्त्र र गहिरो छानबिन गर्न आग्रह गर्दै पीडित पक्षलाई न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
रगतले लत्तपत्तिएको टिसर्टसहित आयोगमा उपस्थित भएका थापाको शैलीलाई स्थानीयस्तरमा चासोका साथ हेरिएको छ। छानबिन आयोगले भने थापाको बयान औपचारिक रूपमा अभिलेखमा राखी थप प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।



