काठमाडौं / राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ। साझा इतिहास, संस्कृति र राष्ट्रिय गौरवको स्मरण गराउँदै विविधताबीचको एकतालाई सुदृढ बनाउने उद्देश्यका साथ यो दिवस मनाउने परम्परा रहँदै आएको छ।
पृथ्वी जयन्तीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकतामा राख्ने चेतनालाई उजागर गर्नुका साथै सशक्त, समावेशी र एकताबद्ध राष्ट्र निर्माणमा योगदान पु¥याएका पुर्खाहरूको सम्मान गर्ने अवसर प्रदान गर्दछ। तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले सामाजिक, आर्थिक र भौगोलिक चुनौतीका बाबजुद जनसमर्थन र सहभागिताका साथ छरिएर रहेका बाइसे–चौबिसे राज्यलाई एकीकरण गर्दै आधुनिक नेपालको आधारशिला तयार गरेका थिए।
उनको एकीकरण अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने मार्ग प्रशस्त गरेकाले नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये एकका रूपमा स्थापित हुन सफल भएको इतिहासकारहरूको भनाइ छ।
पृथ्वीनारायण शाहले दिएका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ जस्ता दिव्योपदेशहरू आज पनि सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणका सन्दर्भमा उत्तिकै सान्दर्भिक मानिन्छन्। साथै, नेपालको भूराजनीतिक अवस्थालाई ‘दुई ढुङ्गाबीचको तरुल’को संज्ञा दिँदै उनले अपनाएको दूरदर्शी दृष्टिकोण आज पनि राष्ट्रिय हित र कूटनीतिक सन्तुलनका बहसमा स्मरणीय रहँदै आएको छ।
