त्रिकालदर्शन

धार्मिक समाचार

लुभू प्रा. स.को सेवाले तात्यो गुल्मी, ४२० बालमनमा मुस्कान

गुल्मी / सेवा, करुणा र मानवीय संवेदनाको अनुपम उदाहरण प्रस्तुत गर्दै श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल, बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्ला समितिको सक्रिय समन्वय तथा महालक्ष्मी नगरपालिकाको विशेष सहयोगमा लुभू प्रा. स.द्वारा गुल्मी जिल्लाका दुर्गम तथा विपन्न क्षेत्रका ६ वटा विद्यालयमा अध्ययनरत ४२० भन्दा बढी विद्यार्थीहरूलाई न्यानो लुगा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

चिसो मौसममा न्यानो कपडाको अभावले दैनिक जीवन र अध्ययनमा कठिनाइ भोगिरहेका बालबालिकाहरूका अनुहारमा मुस्कान ल्याउने यो कार्यक्रम केवल वस्तु वितरणमा सीमित रहेन, बरु मानवताप्रतिको सजीव उत्तरदायित्व बनेर समाजमा प्रस्तुत भयो। दुर्गम भेगका विद्यालयमा पुगेको न्यानो लुगाले विद्यार्थीहरूलाई शारीरिक तातोपन मात्र होइन, आत्मीयता, आशा र अपनत्वको अनुभूति गराएको सहभागीहरूले बताएका छन्।

“परोपकाराय फलन्ति वृक्षाः,

परोपकाराय वहन्ति नद्यः।

परोपकाराय दुहन्ति गावः,

परोपकारार्थमिदं शरीरम्॥”

कार्यक्रम सफल बनाउन खुला हृदयले सेवा अर्पण गर्नुहुने, श्री राजश्यामाजीको हृदयमा वास गर्नुहुने सम्पूर्ण सेवाभावी दाताहरूप्रति आयोजक संस्थाले गहिरो कृतज्ञता व्यक्त गरेको छ। समाज कल्याणको पवित्र भाव बोकेर आफ्नो रगत–पसिनाको कमाइ असहाय बालबालिकाको हितमा अर्पण गर्ने दाताहरूको योगदानले आज सयौँ बालमनमा उज्यालो भरेको आयोजकको भनाइ छ।

“न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते।”

 सेवा र ज्ञानको संगम नै सबैभन्दा पवित्र साधना हो भन्ने भाव यस कार्यले प्रमाणित गरेको छ।

यस महान् सेवायात्रामा प्रत्यक्ष रूपमा खटिनुहुने सम्पूर्ण लुभू प्रा. स.को टोलीप्रति विशेष धन्यवाद तथा हार्दिक प्रणाम व्यक्त गरिएको छ। दुर्गम भूगोल, कठिन यात्रा, व्यवस्थापन र निरन्तर समर्पणमार्फत उनीहरूले सेवा कुनै बोझ होइन, आत्मिक सौभाग्य हो भन्ने सन्देश समाजमा प्रवाहित गरेका छन्।

“सेवा धर्मः परो धर्मः।”

सेवाभन्दा ठूलो धर्म अरू केही छैन भन्ने यस सनातन वाणीलाई जीवन्त बनाउँदै सम्पन्न भएको यो कार्यक्रमले समाजमा प्रेम, करुणा र सहकार्यको संस्कारलाई अझ मजबुत बनाएको आयोजक संस्थाको निष्कर्ष छ।

यस्ता मानवीय तथा सेवामूलक अभियानहरू आगामी दिनहरूमा पनि निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरिएको छ।