बेथानचोकका विद्यार्थीलाई हिमालयन लाइफ इन्सुरेन्सद्वारा झोला वितरण

बेथानचोक / काभ्रेपलाञ्चोक हिमालयन लाइफ इन्सुरेन्स कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बेथानचोक गाउँपालिका वडा नम्बर १ भित्र रहेका चक्रेश्वर माध्यमिक विद्यालय, भैरव माध्यमिक विद्यालय, चन्देबि प्राथमिक विद्यालय, बाघभैरव प्राथमिक विद्यालय र त्रिवेणी प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीस्वरूप झोला वितरण गरिएको छ।
हिमालयन लाइफ इन्सुरेन्स बागमती प्रदेशका उपप्रमुख जितेन्द्र शाह, चापागाउँ शाखा प्रमुख सचिन के.सी., MDRT रबिन्द्र तिमल्सिना, MDRT सृष्टि बस्नेत तथा एजेन्सी म्यानेजर इरिना तिमल्सिनाको उपस्थितिमा सम्पन्न कार्यक्रममा कम्पनीले शिक्षा क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको बताइएको छ।
यसै अवसरमा हिमालयन लाइफ इन्सुरेन्सका अतिथिहरूले “बिमा के हो ? किन गर्नुपर्छ ? कसरी गर्नुपर्छ ?” भन्ने विषयमा विद्यार्थी भाइबहिनी तथा उपस्थित सम्पूर्ण अभिभावकहरूलाई लक्षित गर्दै बडो रोचक र सरल शैलीमा जानकारीमूलक प्रस्तुति दिएका थिए। बिमाले जीवनको जोखिम न्यूनीकरण, भविष्यको सुरक्षा तथा आर्थिक स्थायित्वमा खेल्ने भूमिकाबारे प्रस्ट रूपमा जानकारी गराइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि बेथानचोक गाउँपालिका का अध्यक्ष भगवान अधिकारीले झोला वितरण गर्दै निजी क्षेत्रको सामाजिक उत्तरदायित्वले शिक्षामा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। वडा नं. १ का वडा अध्यक्ष मधुसुधन तिमल्सिनाले स्थानीय तह र निजी क्षेत्रको सहकार्यले समुदायको समग्र विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा भैरव माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द घिमिरे, प्रधानाध्यापक ओमप्रसाद तिमल्सिना, चक्रेश्वर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुमन दाहाल, प्रधानाध्यापक हरिप्रसाद घिमिरेलगायतले मन्तव्य व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीहरूको अध्ययनमा थप उत्साह बढ्ने विश्वास व्यक्त गरे। कार्यक्रम स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागितामा सफलतापूर्वक सम्पन्न भएको थियो।







Post Comment