त्रिकालदर्शन

धार्मिक समाचार

जनप्रिय प्राविको २९ औँ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

बेथानचोक / काभ्रेपलाञ्चोक जिल्लाको दक्षिणी भेग बेथाञ्चोक गाउँपालिका वडा नं. ३ मा अवस्थित जनप्रिय प्राथमिक विद्यालयको २९ औँ वार्षिक उत्सव समारोह विविध कार्यक्रमका साथ शनिबार भव्य रूपमा सम्पन्न भएको छ।

समारोहका प्रमुख अतिथि बेथाञ्चोक गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष कुबेर ढकाल रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथि पूर्व गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, पूर्व वडा अध्यक्ष दिलबहादुर श्रेष्ठ, वडा समितिका पदाधिकारीहरू, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, (साविक ढुंखर्क गाबिस वडा नं. २) का पूर्व वडा अध्यक्ष वेदप्रसाद तिमल्सिना, समाजसेवी वोधनाथ तिमल्सिना, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहका प्रमुख अतिथि बेथाञ्चोक गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष कुबेर ढकाल ले आधुनिक शिक्षाको आवश्यकता र महत्वबारे मन्तव्य राख्दै आजको शिक्षा पुस्तकमै सीमित नभई प्रविधिमैत्री, व्यवहारिक, सिर्जनात्मक र जीवनोपयोगी हुनुपर्नेमा जोड दिनुभयो। उहाँले गुणस्तरीय शिक्षाका लागि विद्यालय, अभिभावक र स्थानीय सरकारबीच समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

विशिष्ट अतिथि पूर्व गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना ले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको बताउँदै ग्रामीण भेगका विद्यालयहरूलाई आधुनिक शिक्षासँग जोड्न दीर्घकालीन सोच र निरन्तर लगानी आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले विद्यालयको शैक्षिक उन्नतिमा शिक्षकको भूमिका अत्यन्त महत्वपूर्ण हुने कुरा पनि उल्लेख गर्नुभयो। कार्यक्रममा बेथाञ्चोक गाउँपालिका वडा नं. ३ का वडा सदस्य बासु तिमल्सिना ले स्थानीय तहले शिक्षालाई प्राथमिकतामा राखेर पूर्वाधार विकास, सिकाइ वातावरण सुधार र विद्यार्थी प्रोत्साहनका कार्यक्रम अघि बढाइरहेको जानकारी गराउनुभयो।

कार्यक्रममा श्री कृष्णगोपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमप्रसाद तिमल्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै शिक्षाको गुणस्तर सुधार र विद्यालयको समग्र विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत तथा विभिन्न प्रस्तुति मार्फत उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोवित स्याङतान सभापतित्व सम्पन्न भएको थियो।