देशभर हरिबोधिनी एकादशी पर्व श्रद्धा र भक्तिभावसहित मनाइदै

काभ्रेपलान्चोक / आज देशभर हरिबोधिनी एकादशी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। कार्तिक शुक्ल एकादशीका दिन पर्ने यस पर्वलाई “ठुलो एकादशी” र “देवउठाउने एकादशी” पनि भनिन्छ।
धार्मिक परम्परा अनुसार चार महिनासम्म योग निद्रामा रहेका भगवान् विष्णु आजको दिन जागृत हुने विश्वास गरिन्छ। यसैसँगै चतुर्मासको समाप्ति र शुभकार्यहरूको आरम्भ हुने शुभसंकेतका रूपमा यो दिनलाई विशेष महत्त्वका साथ मनाइन्छ।
आज बिहानैदेखि भक्तजनहरूले तीर्थस्थान र मन्दिरहरूमा स्नान, ध्यान, उपवास र पूजा गरी भगवान् विष्णुको आराधना गरेका छन्। उपत्यकाका प्रमुख नारायण मन्दिरहरू चांगुनारायण, इचंगुनारायण, शेषनारायण र विशंखुनारायणमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
घरघरमा तुलसी मठ सजाएर तुलसी – दामोदर विवाह सम्पन्न गर्ने परम्परा पनि आजकै दिन पालना गरिन्छ। तुलसीलाई देवी र भगवान् दामोदर (विष्णु) सँग विवाह गराउने यो विधिलाई भक्तिभाव, प्रेम र पारिवारिक मंगलको प्रतीकका रूपमा लिइन्छ।
हरिबोधिनी एकादशी व्रतको धार्मिक मान्यता अनुसार यस दिन उपवास गरी विष्णु भगवान्को पूजा गर्नेले हजार अश्वमेध यज्ञ बराबरको पुण्य प्राप्त गर्छ। भक्तहरूले आजका दिन उपवास, नाम स्मरण र दान-पुण्यमा सहभागिता जनाएका छन्।
मन्दिर परिसरमा दीप, धूप र भजनको सुगन्धले वातावरण पवित्र बनेको छ। भक्तजनहरूले हरिबोधिनी एकादशीलाई आत्मशुद्धि, जागरण र आध्यात्मिक नवीनीकरणको दिवसका रूपमा मानीएको छन्।
चतुर्मासको अन्त्यसँगै अब विवाह, गृहप्रवेश, यज्ञ तथा अन्य शुभकार्यहरू पुनः सुरु हुने धार्मिक विश्वास रहेको छ। हरिबोधिनी एकादशीलाई शुभता, भक्ति र धर्मप्रेमको प्रतीकका रूपमा देशभर उल्लासमय वातावरणमा मनाइने छ।



Post Comment