त्रिकालदर्शन

धार्मिक समाचार

मन्त्री कुलमान घिसिङ आज काभ्रेमा, बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको अवलोकन गर्ने

काभ्रेपलाञ्चोक / भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङ आज बाढीपहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको अवस्थाको अवलोकन गर्न काभ्रे जिल्ला आउदै छन्।

गत असोज १७, १८ र १९ गतेको अविरल वर्षा र बाढीपहिरोका कारण राजमार्गका विभिन्न खण्डहरूमा ठूलो क्षति पुगेपछि मन्त्री घिसिङले क्षतिपूर्वक पुनर्निर्माण र मर्मत कार्यको स्थलगत अनुगमन गर्ने तयारी गरेका हुन्।

मन्त्रीसँगै निरीक्षण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक लगायतका उच्च अधिकारीहरू समेत सहभागी हुने जनाइएको छ।

हाल बीपी राजमार्गका विभिन्न ठाउँमा अस्थायी डाइभर्सन निर्माण कार्य तीव्र गतिमा भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरका सूचना अधिकारी बिन्दु अधिकारीले जानकारी दिए। उनका अनुसार, काभ्रे खण्डको चौकीडाँडा, चारसयबेसी, पिन्थली र भ्याकुरेखोला क्षेत्रमा डाइभर्सन बनाउने काम जारी छ।

सडक पुनः सञ्चालनका लागि हालसम्म १२ वटा स्काभेटर, ४ वटा ह्वील लोडर र ८ वटा टिपर परिचालन गरिएको अधिकारीले बताए। डाइभर्सन तयार भएपछि कटुञ्जे डाँडादेखि चारसयबेसीसम्म दुईतर्फी सवारीसाधन सञ्चालन सहज भएको भए पनि चौकीडाँडा क्षेत्रमा अझै काम जारी रहेको जनाइएको छ।

स्थानीयवासीहरूका अनुसार सडक क्षति भएपछि केही दिनसम्म यात्रुहरूले भिरका ढुंगामुनि समात्दै जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपरेको थियो। सो अवस्थाका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा व्यापक रूपमा सार्वजनिक भएपछि मन्त्रालयले तत्काल स्थल निरीक्षणको तयारी गरेको हो।

मन्त्री घिसिङले आजको अवलोकनपछि बीपी राजमार्गको दिगो पुनर्निर्माण, स्थायी समाधान र भविष्यमा बाढीपहिरोबाट हुने जोखिम न्यूनीकरणका उपायहरूबारे सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने अपेक्षा गरिएको छ।