एमाले महाधिवेशनमा ओली वर्चस्व :- राधेश्याम गजुरेल

Bytrikaldarshan

२०८२ पुष ८, मंगलवार १३:४७ २०८२ पुष ८, मंगलवार १३:४७ २०८२ पुष ८, मंगलवार १३:४७

भक्तपुर / नेकपा एमाले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २७–२९ सम्म सम्पन्न भई अध्यक्ष पदमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन्। अर्का अध्यक्ष पदका प्रत्यासी ईश्वर पोखरेलबाट कडा टक्कर मिल्ने जनअपेक्षाका बाबजुद पनि ओली कार्यकर्ताको करिब दुईतिहाइ मत प्राप्त गर्दै निर्विकल्प नेतृत्वका रूपमा तेस्रो कार्यकालका लागि पुनः उदाएका छन्। यससँगै उनले पार्टी इतिहासमै निरन्तर तेस्रोपटक अध्यक्ष बन्ने कीर्तिमानसमेत कायम गरेका छन्।

दलीय हैसियतबाट राष्ट्रमा एक कम्युनिस्ट नेतृत्व र ‘ब्रान्ड’ बनाएका ओली भदौ २३ र २४ को जेन्जी आन्दोलनका कारण सत्ताबाट बाहिरिन बाध्य भएका व्यक्ति हुन्। जेन्जी आन्दोलनका क्रममा आगलागीबाट उनको बालकोटस्थित निवास खण्डहर बनेपछि हाल उनी भक्तपुरको गुण्डूस्थित भाडाको घरमा बस्दै महेश बस्नेतको प्रत्यक्ष सहारा र निगरानीमा राजनीतिक गतिविधिमा संलग्न रहँदै आएका छन्। यद्यपि, सार्वजनिक जीवनमा फर्किएदेखि नै उनले जेन्जी आन्दोलनलाई आलोचना गर्दै ‘बेकुफको चाहत’ भन्दै निरन्तर प्रहार गरिरहेका छन्।

जेन्जी आन्दोलनको प्रभावसँगै एमालेभित्र केही नेताहरूले ओलीको तत्काल बहिर्गमन वा महाधिवेशनमार्फत नेतृत्व पुस्तान्तरणको बहस सुरु गरिसकेका थिए। तर राजनीतिमा चतुर मानिने ओलीले काँग्रेसजस्तो ढिलासुस्ती र किचलो नगरी देशभरिका कार्यकर्ताबाट आफूलाई अनुमोदन गराउन तत्काल महाधिवेशन घोषणा गरी सम्पन्न गरे र वैधानिक प्रक्रिया पूरा गरेका छन्। उनले चालेको कदमलाई पार्टीभित्र देशभरिका एमाले प्रतिनिधिहरूले दुईतिहाइ मत दिई वैधानिकता प्रदान गरे। यसपटक पुस्तान्तरण र युवा नेतृत्व हस्तान्तरणको प्रयास सफल हुन सकेन।

युवाको आन्दोलनले मुलुक तातेका बेला एमालेभित्र पनि परिवर्तनको चाहना तीव्र हुने र युवा नेतृत्वले पार्टी दिशानिर्देश गर्ने अनुमान गरिएको थियो। तर अनुमानविपरीत प्रतिनिधिहरूको दुईतिहाइ समर्थनसहित ओलीलाई पुनः निर्विकल्प अध्यक्षका रूपमा जिम्मेवारी सुम्पिइयो। एमालेको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा ओली समूहकै वर्चस्व रहेकाले पनि हिंसात्मक आन्दोलनबाट सत्ताबाट हटाइएका र केही युवाले नचाहेका ओली पार्टी महाधिवेशनमार्फत नेतृत्वमा कायम रहन सफल भएको देखिन्छ।

देश निर्वाचनतर्फ होमिएको छ। दल दर्ता र निर्वाचन प्रक्रियामा सामेल रहँदै पनि एमाले र काँग्रेस प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सर्वोच्च अदालतको निर्णयको प्रतीक्षामा छन्। यदि सर्वोच्च अदालतबाट संसद् पुनःस्थापना भए ओली पुनः देशको सर्वोच्च कार्यकारी पदमा बहाल हुनेछन्। यदि त्यसो नभए पनि निर्वाचनमार्फत जनअपेक्षा बुझी जनताको मन जित्दै पार्टीलाई देश परिवर्तनको संवाहक बनाइ जनमत आफ्ना पक्षमा ल्याएर बहुमत सिद्ध गर्नुपर्ने चुनौती उनका सामु छ।

देशभर महाधिवेशन प्रतिनिधि छनोटदेखि स्थानीय तहसम्म एकता, मेलमिलाप र समन्वय कायम गर्न सके उनी सफल हुनेछन्। तर जरैदेखि संयन्त्र कमजोर भएको खण्डमा उनलाई अब्बल स्थान हासिल गर्न कठिन हुने देखिन्छ।

दम्भ र आवेगजस्तो देखिने तीखो प्रहारका बाबजुद निडर रूपमा जेन्जीलाई चुनौती दिने ओली केवल उखान–टुक्काको भरमा आफूलाई प्रमाणित गरिरहेका व्यक्ति भने होइनन्। उनमा स्पष्ट भिजन छ, संगठनमा एकता कायम गर्न सक्ने क्षमता छ। उनी स्वयं अध्ययनशील, ज्ञानसम्पन्न र अनुभवले खारिएका नेता हुन्। सबैका आ–आफ्ना चाहना र रहर हुन्छन्, तर ती निजी स्वार्थमा सीमित हुनुहुँदैन। राष्ट्रप्रेमका अभिव्यक्ति सहित व्यवहारमा खरो उत्रने अभ्यास र पहिचानले नै उनलाई ‘हिरो’ बनाएको हो।

एमालेका समर्थकहरूले मात्र होइन, राजनीतिक वृत्तका धेरैले स्वीकार गरेका छन्—जति नै तिकडम गरिए पनि आगामी निर्वाचनबाट नेकपा एमाले पहिलो दल बन्ने सम्भावना बलियो छ। जेन्जी आन्दोलन युवाको परिवर्तन चाहना हो, हाल कायम व्यवस्थाको विकल्प खोज होइन भन्ने कुरा स्वयं उनीहरूले पनि स्वीकार गरिसकेका छन्। त्यसैले बलियो जनाधार र तल्लो तहसम्म पहुँच भएको एमालेलाई सिध्याउन सकिन्न भन्ने यथार्थ धेरैले बुझेका छन्।

अब जेन्जी तथा अन्य दल र समूहको विरोध र प्रतिकारका बाबजुद एमालेलाई उत्कृष्ट बनाउने जिम्मेवारी नयाँ ऊर्जासहित ओलीकै काँधमा आएको छ। उनी जनमासमा पुग्नैपर्छ। जिम्मेवारीप्रति बफादार रहँदै पार्टी अगाडि बढाउन निर्वाचित पार्टीपंक्तिबाट पनि उनलाई सहयोग हुने देखिन्छ। अधिकांश पदाधिकारी र सदस्य ओली पक्षकै निर्वाचित भएका छन्। साथै ईश्वर पोखरेलप्रति पनि विगतझैँ चिढ्याउने मनस्थितिमा ओली नरहेकाले यो प्रक्रिया प्रजातान्त्रिक पद्धति सुदृढ गर्दै एमाले सशक्त बनाउने दिशामा अघि बढ्ने विश्वास गर्न सकिन्छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ