
नेपाली बजारमा आइतबार (कात्तिक ९ गते) सुनको भाउमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ११ हजार ६०० रुपैयाँले सस्तो भएको हो ।
हाल छापावाल सुनको मूल्य तोलाको दुई लाख ४१ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । तिहार अघि कात्तिक ३ गते यही सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँ पुगेको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला २६५ रुपैयाँले घटेर तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । कात्तिक ३ गतेको तुलनामा यो मूल्यमा उल्लेखनीय कमी आएको हो, किनभने सो दिन चाँदी प्रतितोला तीन हजार २८० रुपैयाँमा किनबेच भएको थियो ।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घटेकै असर नेपाली बजारमा समेत परेको हो ।